© 2026
सल्यान, १८ पुस ।
खेलकुद संस्कृतिको विकास, विद्यार्थी तथा युवाहरूको प्रतिभा उजागर गर्दै स्वस्थ समाज निर्माणको उद्देश्य सहित सल्यानको छत्रेश्वरी गाउँपालिकामा अध्यक्ष कपको पाँचौँ संस्करण तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।
वडा नम्बर ६ स्थित शारदा माध्यमिक विद्यालय शंखमूलको प्राङ्गणमा पुस २४ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुनेछन् ।
पालिका स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । अध्यक्ष कप र आठौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनौट प्रतियोगिता एकसाथ सञ्चालन हुन लागेको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।
अध्यक्ष कप अन्तर्गत पुरुष र महिला तर्फ विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ । पुरुष तर्फ पुरुष भलिबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ । महिला तर्फ कुर्सी दौड प्रतियोगिता र एकल लोकगीत प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा गाउँपालिका भित्रका सबै वडाहरूको सहभागिता रहने शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ ।
यसै गरी राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट अन्तर्गतका विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुने प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले बताए । यस प्रतियोगितामा कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत १८ वर्षमुनिका छात्र छात्रा सहभागी बन्नेछन् ।