Butwal Today

वडामै पुगेर योजना सम्झौता

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

लमही, १८ पुस ।

दाङ गढवा गाउँपालिकाले योजनाको सम्झौता गर्न वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ ।

योजना सम्झौता गर्न सिङ्गो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिँदा आफूहरूलाई सहज भएको धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञबहादुर वलीले बताए ।

“एउटा सम्झौता गर्न दिनभरि लाग्थ्यो, तर सम्झौता गर्न पालिकाको टिम वडामा आएर सेवा दिँदा हामी अत्यन्त खुसी भएका छौँ”–वलीले भने । त्यसै गरी वडाबाटै योजनाको सम्झौता गर्न पाउँदा आफूहरू अत्यन्त हर्षित भएको बनघुस्री पश्चिम सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव सिंह केसीले बताए ।

“एउटा योजना सम्झौता गर्न गाउँपालिका धाउनु पर्थ्यो, एक दिन खर्चिनु पर्ने बाध्यता थियो तर विगत दुई वर्षदेखि गढवा गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता कार्यक्रम सुरु गरेदेखि सहज भएको छ”–उनले भने ।

योजना सम्झौता गर्न गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, योजना शाखा प्रमुख रेशमलाल शर्मा, प्राविधिक शाखा प्रमुख इन्जिनियर शेषमणी पौडेल, १ नं. वडाका सचिव मधुसुदन पौडेल, योजना शाखाकी वसन्ती चौधरी लगायतको सिङ्गो टिम वडा कार्यालयमा पुगेर १७ योजनाको सम्झौता सम्पन्न गरेको छ ।

सम्झौता कार्यमा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, वडा सचिव मधुसुदन पौडेल र अन्य कर्मचारीहरूको विशेष सहयोग रहेको थियो ।
गढवा गाउँपालिकाको प्रशासनिक कार्यालय वडा नम्बर ६ गढवा बजारमा अवस्थित छ तर गढवा गाउँपालिका वडा नम्बर १,२ र ८ का पालिकावासीलाई पालिका आउन एक दिन नै लाग्ने गर्छ ।

सेवाग्राहीलाई एउटा योजना सम्झौता गर्न कम्तीमा एक दिनको समय र आवतजावतका लागि पैसा खर्च हुने गर्थ्यो तर वडा कार्यालयबाट योजना सम्झौताको कार्य गर्दा सेवाग्राहीलाई सहज भएको छ ।

एकै दिनमा काम सकिने भएकाले टाढा भएको वडामा वडा कार्यालयबाटै सम्झौताको कार्य गर्ने योजना बनाएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले बताए ।

विशेष गरी, वडामा सेवा पु¥याउन गरिएको यो कार्यले योजना सम्झौताको प्रक्रिया छिटो, पारदर्शी र प्रभावकारी बनाएको अधिकृत पौड्यालले बताए ।