Butwal Today

जबरजस्ती करणी पीडित १७२ महिला तथा बालिकालाई माइती नेपालको परामर्श

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

बर्दिया, १८ पुस ।

माइती नेपालले बर्दियामा जबरजस्ती करणीको घटनामा परेका १ सय ७२ जना बालिका तथा महिलालाई परामर्श, स्वास्थ्य तथा कानुनी सहयोग प्रदान गरेको छ ।

पछिल्ला पाँच वर्षको अवधिमा पीडित महिला तथा बालिकालाई आवश्यक उपचारमा पहुँच पुर्‍याउने, कानुनी प्रक्रियामा सहयोग गर्ने र संरक्षण प्रदान गर्ने कार्य माइती नेपालले गर्दै आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जबरजस्ती करणीबाट पीडित बालिका तथा महिलालाई संस्थाले निरन्तर सहयोग गर्दै आएको बताइन् ।

उनका अनुसार जबरजस्ती करणीका घटनामा पीडित हुनेमध्ये अधिकांश बालिका रहेका छन् ।

तथ्यांकअनुसार सन् २०२१ मा ३६ जना, २०२२ मा ३६ जना, २०२३ मा २५ जना, २०२४ मा ५४ जना र सन् २०२५ मा हालसम्म १९ जना गरी जम्मा १ सय ७२ जना बालिका तथा महिलालाई आवश्यक परामर्श, स्वास्थ्य तथा कानुनी सहयोगसहित संरक्षण प्रदान गरिएको छ ।

विगत लामो समयदेखि माइती नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको छ । यसका साथै विभिन्न हिंसाजन्य घटनाबाट पीडित बालिका तथा महिलाको उद्धार, पारिवारिक पुनर्मिलन, जोखिमपूर्ण यात्रामा रहेकालाई परामर्श, तथा सरकारी निकायसँग समन्वय गरी काम गर्दै आएको छ ।

पीडितलाई संरक्षणका साथै सीपमूलक तालिमसमेत प्रदान गरिँदै आएको माइती नेपालले जनाएको छ । माइती नेपालको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा मानव बेचबिखन तथा हिंसाका घटना हुने जिल्लामध्ये बर्दिया दोस्रो स्थानमा रहेको छ ।