© 2026
काठमाडौँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मध्याह्न जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गर्न सर्वोच्च अदालत पुगेकी छन् । उनले डेढ घण्टा अदालत परिसरमा बिताइन् ।
अवलोकनको क्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेटवार्ता गरेकी हुन् । सुरुमा प्रधानन्यायाधीशसहित अन्य न्यायाधीश र मुख्य रजिस्ट्रारसँग संयुक्त रूपमा कुराकानी भए पनि त्यसपछि करिब ४५ मिनेट प्रधानन्यायाधीश राउतसँग मात्र छलफल भएको थियो ।
स्रोतका अनुसार, मुख्य रजिस्ट्रार बिमल पौडेलले पूर्वराष्ट्रपति भण्डारीलाई अदालतको अवलोकन गराएका थिए र जेनजी आन्दोलनमा भएको क्षतिको विषयमा जानकारी दिएका थिए ।
अवलोकनपछि भण्डारीले दुःख व्यक्त गर्दै भन्नुभयो, “न्यायको मूर्ति भएको स्थान र ऐतिहासिक धरोहर जलेकोमा एकदमै दुःख लागेको छ ।” उनले सर्वोच्च अदालतको तत्काल पुनर्निर्माण आवश्यक भएकोमा जोड दिइन् ।
“सर्वोच्च, सिंहदरबार र संसद् भवन ऐतिहासिक र महत्त्वपूर्ण स्थल हुन् । सर्वोच्च अदालत सामान्य नागरिकले न्यायका लागि ढोका ढकढाउने ठाउँ हो । सरकारले यसको पुनर्निर्माणमा ध्यान देओस्,” भण्डारीले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारी केही साताअघि सिंहदरबार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन् ।