Butwal Today

इन्धन मूल्य घटेसँगै नागरिक उड्डयनले हवाई भाडा समायोजन गर्‍यो

१८ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १८ पुस ।

हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटाइएको हो । समायोजनको अनुसार, काठमाडौँबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्नेछ । धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।

माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ । काठमाडौं–भद्रपुर रुटमा २ सय ४५ रुपैयाँ भाडा घटेको छ । क्षेत्रीय उडानमा भने अझ बढी घटेको छ । जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा रुटमा ५५ रुपैयाँ भाडा कम भएको छ ।

हवाई भाडामा फ्युल सर्चार्ज एक शीर्षक हो । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडा पनि जोड्दा मात्र पूर्ण भाडादर कायम हुन्छ ।