© २०२३
बुटवल। सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमाले परित्यागको घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख वासुदेव घिमिरे पुन: एमालेमै सक्रिय देखिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको उनले बताएका थिए।
पार्टी परित्यागपछि पार्टी केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँगको भेटपछि पौडेलले बिहीबार ‘हामी सँगै छौं’ लेख्दै घिमिरेसहितको सामुहिक तस्वीर सार्वजनिक गरेका थिए।
शुक्रबार उनी एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहितका एमाले नेताहरु सहभागी कार्यक्रमहरुमा सहभागी भएका तस्वीर सार्वजनिक भएका छन्। उनी एमालेमै सक्रिय भएको एमाले नेताहरु बताउँछन्।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले घिमिरेले दिएको राजीनामा अस्वीकृत भएको जानकारी दिए। उनले सामाजिक सञ्जालमार्फत दिएको राजीनामा स्वीकार नभएको र पार्टीमै सक्रिय हुन आग्रह गरेको बताए।
एमाले उपाध्यक्ष पौडेलसँगको लामो भेटघाटपछि उनी पार्टीमै सक्रिय बन्न तयार भएका थिए। उनले एमाले परित्याग गरी बालेनको समूहबाट रास्वपामा प्रवेश गर्ने चर्चा भएपनि उनी कुनै पार्टी प्रवेश गरेका थिएनन्।
एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा अध्यक्ष केपी ओलीको टीममा नपरेपछि उनी इश्वर पोखरेलको प्यानलबाट चुनाब लडेका थिए। चुनाबमा उनी पराजित भएका थिए। पराजित भएपछि असन्तुष्ट घिमिरेले सामाजिक सञ्जालमा परिवर्तनका पक्षमा लेख्दै आएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको बताएका घिमिरेले भने एमालेमा फर्किएको/नफर्किएको भन्ने विषयमा आफ्नो तर्फबाट कुनै प्रतिक्रिया दिएका छैनन्। बिहीबार बेलुकादेखि नै उनको मोबाइल स्वीच अफ छ भने उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस हटाएका छैनन्।