Butwal Today

सामाजिक उत्तरदायित्व अन्तर्गत ३६८ विद्यार्थीलाई स्विटर वितरण

१७ पुष २०८२, बिहीबार
अ+
अ-

सल्यान, १७ पुस ।

सामुदायिक विद्यालयमा अध्ययनरत ३६८ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ ।

जाडोबाट स्वास्थ्य सुरक्षा गर्ने, नियमित उपस्थिति बढाउने तथा शैक्षिक समानता र आत्मविश्वास प्रदानका लागि एक बिमा कम्पनीले सल्यानमा दुई सामुदायिक विद्यालयका ३६८ जना विद्यार्थीलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सिद्धकुमाख गाउँपालिकाका दुई विद्यालयमा न्यानो कपडा वितरण गरेको हो ।

गाउँपालिकासँगको समन्वय र विद्यालयहरूको सहकार्यमा बुधबार स्विटर वितरण गरिएको हो । सिद्धकुमाख–२ स्थित देउराली माध्यमिक विद्यालय र वडा नं. ३ स्थित निराजन माध्यमिक विद्यालयका शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत सम्पूर्ण बालबालिकालाई प्रदान गरिएको हिमालयन लाइफ सल्यान शाखाका प्रमुख दिपेन्द्रकुमार शाहीले बताए ।

गाउँपालिका अध्यक्ष भरत गिरीले सामाजिक कार्यमा योगदान पु¥याएबापत हिमालयन लाइफप्रति आभार व्यक्त गर्दै बिमा कम्पनीहरू बिमा कारोबारमा मात्र सीमित नभई सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुपर्ने बताए ।

हिमालयन लाइफका लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवरले बिमाको महत्वबारे सरोकारवाला, अभिभावक, शिक्षक र विद्यार्थीलाई जानकारी गराएका थिए । उनले नागरिकको बिमा अनिवार्य रहेको उल्लेख गर्दै गाउँपालिकाले ‘एक घर एक बिमा’ कार्यक्रम लागू गरेमा कम्पनीले आवश्यक सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

निराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले सामुदायिक विद्यालयलाई आत्मनिर्भर र नमुना बनाउन सबै सहयोगी हातहरूको आवश्यकता रहेको भन्दै शैक्षिक वातावरण सुदृढ बनाउन सहकार्यमा जोड दिएका छन् ।

यस्तै देउराली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश डीसीले यस्ता कार्यक्रमले अभिभावकमा विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह हुने र बालबालिकाको मनोबल बढ्ने बताए ।

स्विटर वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यस्ता सामाजिक कार्यले विपन्न बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?