© 2026
काठमाडौं ।
समान विचारधारा भएका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरिएको हो ।
सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । एकता पछि पार्टीको नाम राप्रपा नै रहनेछ ।
पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहनेछन् भने पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै (हलो) कायम रहने सहमति भएको छ ।
दुई पार्टीबीचको एकीकरणपछि राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित ‘सम्बर्धनवाद’ नै पार्टीको वैचारिक दर्शन हुनेछ । यसअनुसार सबै धर्मका बीच समानता, पूर्ण धार्मिक स्वतन्त्रता, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीका मार्गदर्शक सिद्धान्त हुनेछन् ।
संगठन समायोजनसम्बन्धी सहमतिअनुसार राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित र हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ । राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछ ।
जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर)मा २०७८ को महाधिवेशनको समयमा कायम संरचनालाई सम्मानजनक ढंगले समायोजन गर्ने सहमति पनि भएको छ । राप्रपा नेपालका जनवर्गीय संगठन (भातृ संगठन) का पदाधिकारी र सदस्यहरूलाई पनि राप्रपाका सम्बन्धित संगठनहरूमा सम्मानजनक रूपमा समायोजन गरिनेछ ।
एकीकृत पार्टीमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको भूमिका भने सहमतिपत्रमा खुलाइएको छैन ।
