© 2026
पोखरा, १६ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिभन्दा बाहिर कुनै पनि हालतमा नजाने स्पष्ट पारेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रास्वपा परिवारवादको विपक्षमा स्पष्ट रहेको दाबीसमेत गरे ।
‘रास्वपा विधिसँग छ । विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु परेमा राइट टु रिकलको व्यवस्था रास्वपाको विधानमै गरिएको छ ।’
समानुपातिक तर्फको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको सन्दर्भमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उनले भने, ‘हाल देखिएको राजनीतिक परिस्थितिमा हामी नयाँ ढंगले एक ठाउँमा उभिएर अघि बढ्ने निर्णय छोटो समयमा लिनुपर्यो । त्यसले गर्दा तयारीका लागि पर्याप्त समय नपुगेको स्वीकार गर्छु ।’
उनले सूची सार्वजनिक हुनु अघि नै पुनरावलोकन (रिभ्यू) गर्ने समय राखिएको पनि बताए । ‘कुलमानजीसँग पनि हामीले अन्तिम समयमा छलफल गरेका थियौं । एकातिर सूची बुझाउनु थियो, अर्कोतिर सहमति जुटाउने काम भइरहेको थियो,’ उनले भने ।
यस्तै कारणले केही समस्या देखिएको हुन सक्ने भन्दै यदि त्यस्तो भए त्यसलाई पुनरावलोकन गरिने उनले बताए ।
‘हामी सचेत छौं । समयको अभावले गर्दा दुई दिन अरू पनि कुनै जायज गुनासो छन् कि भनेर पर्खिएका छौं,’ लामिछानेले भने, ‘यी दुई दिनभित्र आएका सबै जायज गुनासो सम्बोधन गर्छौं । पार्टीले बोकेर हिँड्नुपर्ने कुनै व्यक्ति हामीसँग छैन ।’
सो क्रममा अनलाइनखबरले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘क्रमसंख्या सच्याउनुहोला । केही नामहरू पहिलेदेखि नै चर्चामा रहेका र आर्थिक रूपमा सक्षम देखिए । तपाईंहरूले त्यस्ता व्यक्तिलाई नै किन रोज्नुभयो ?’
यसको जवाफमा लामिछानेले भने, ‘नेपाल अहिले जुन राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ, त्यसले समाजका सबै तह, तप्का र पेशा–व्यवसायमा रहेका व्यक्तिहरूलाई राजनीतिप्रति आकर्षित गरेको छ ।’
उनका अनुसार देशमा राजनीति दूषित बन्दै जाँदा राजनीतिबाट टाढा रहेका सचेत नागरिकहरू समेत राजनीतिमा जुर्मुराउन थालेका छन् ।