© 2026
काठमाडौँ ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश दिएसँगै कारागार पठाउने कागजी प्रक्रिया अघि बढाइएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए । तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो । अख्तियारले गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यही मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी थिइन् ।
दुई जनाबीचको अडिओ बाहिरिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । अडिओ संवादमा बिचौलियाले गुप्तासँग भनेको भनाइमा “पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ लाख राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला” भनिएको सुनिएको थियो ।