© 2026
काठमाडौं, १६ पुस ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ ।
राजनीतिक वातावरण निर्वाचन उन्मुख हुँदै गएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार नेप्से ४७ अंकले बढेको थियो भने सोमबार १० अंकले करेक्सन आएको थियो ।
नेप्से सूचक निरन्तर बढ्दा वा घट्दा पनि सुधार दिगो हुन्छ भनिन्छ । यस साता बुधबार, आइतबारको सुधारपछि एक दिनको करेक्सन पछि बजार सूचक पुनः सकारात्मक भएको छ ।
बुधबार नेप्से परिसूचक कारोबार सुरु हुँदादेखि सकारात्मक रह्यो । कारोबार मध्य समयमा करिब २० अंकसम्म बढेको नेप्से बन्द हुँदा १०.८७ अंकको सुधारसहित २६३३.७६ अंकमा पुगेको छ । नेप्से कारोबार रकमले पनि बजार सूचकको वृद्धिलाई समर्थन गरेको देखिन्छ ।
बुधबार नेप्सेमा ३४२ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । तीमध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ । साथै, ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
बुधबार नेप्सेमा एसवाई प्यानल र न्यादी हाइड्रो पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेपछि सकारात्मक सर्किट लागेको छ । नेप्सेका सबै समूहगत परिसूचक पनि सकारात्मक रहे ।
नेप्सेमा समूहगत परिसूचकको वृद्धि यसप्रकार छ: बैंकिङ ३.४६, विकास बैंक २४.५७, वित्त १.५५, होटल ३.७६, जलविद्युत् ७.७८, लगानी ०.२१, जीवन बीमा ६९.२३, उत्पादनमूलक १३६.३६, माइक्रोफाइनान्स १५.९, सामूहिक लगानी कोष ०.०९, निर्जीवन बीमा ४१.२९, अन्य ८.१७ र व्यापार समूह १२.७७ अंकले बढेका छन् ।
बुधबार नेप्सेमा २३४ कम्पनीको ६३ हजार कारोबारबाट ५ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा बढी हो, जब नेप्सेमा ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।