Butwal Today

सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम

१६ पुष २०८२, बुधबार
अ+
अ-

बुटवल । बुटवलमा जारी बुटवल सडक खाना महोत्सवअन्तर्गत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा, नेपाल नियमित रक्तदाता संघ तथा लायन्स क्लब अफ बुटवल डाइनामिक टुरिजमको सहकार्यमा महोत्सव स्थलमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

महोत्सवको सचिवालय परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदान जस्तो जीवनदायी कार्यमा व्यवसायिक क्षेत्रले सक्रिय भूमिका खेल्नु आवश्यक रहेको बताए ।
उनले यस क्षेत्रमा आफ्नो संस्था लामो समयदेखि नियमित रक्तदानमा सक्रिय रहँदै आएको उल्लेख गर्दै, धेरै मानिस भेला हुने स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्दा जनचेतना अभिवृद्धि हुनुका साथै नयाँ रक्तदाता थपिन सहयोग पुग्ने बताए ।
कार्यक्रमका संयोजक गोकर्ण बहादुर रायमाझीले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले महोत्सवभित्रै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमार्फत नागरिकमा रक्तदानप्रति सचेतना फैलाउने र नयाँ रक्तदातालाई उत्प्रेरित गर्ने लक्ष्य लिइएको हो । कार्यक्रममा करिब ३० युनिट रगत संकलन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?