© 2026
कपिलवस्तु-कपिलवस्तु स्थित सशस्त्र प्रहरी बल नम्बर २८ गण हेड क्वाटर बर्मेलीको १९ औं स्थापना दिवस मनाइएको छ । सशस्त्र प्रहरी वल नेपाल, नम्बर २८ हेड क्वाटर कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीले गण परिसरमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र कुवँरले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सफल भएको बताए । उनले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको बताउँदै आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाए ।
विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा सशस्त्र प्रहरी वलको माग देशभर भइरहेको उनको भनाइ छ । यसका साथै सशस्त्र प्रहरीको भूमिकाले राजश्वमा समेत योगदान बढेको डीआईजी कुवँरले जानकारी दिए । निकट समिपमा आएको प्रतिनिधी सभा सदस्यको निर्वाचनका लागि सुरक्षा संयन्त्र तदारुकताका साथ लागि पर्नुपर्नेमा समेत उनको जोड थियो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले विपद, सीमा रक्षालगायतमा सशस्त्र प्रहरी वलको भूमिका उल्लेखनीय भएको चर्चा गरे । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले कठिन परिस्थतिमा स्थापना भएको सशस्त्र प्रहरी बलले हरेक कठिन अवस्थालाई सहजतालाई बदलेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि थप अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै आगामी दिनमा थप कर्मशील र इमान्दार बन्न सुझाव दिए ।
२०६४ साल पुष १५ गते सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ तौलिहवा स्थित नेपाल कृषि सामग्री संस्थानको पुरानो गोदामबाट कार्य सञ्चालन गरिएको थियो ।
स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ३०० मिटर दौड प्रतियोगिता, मठ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम सञ्चालन गरिएका थिए । सोही अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमका विजेताहरूलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।