© 2026
बुटवल-नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तरगत समानुपातिक तर्फ बुझाएको उम्मेदवारहरुको बन्दसूचीमा रुपन्देहीबाट एकजना पनि परेका छैनन्।
एमालेको संगठन बलियो भएका जिल्लामध्येमा गणना हुने रुपन्देहीबाट एकजना पनि समानुपातिकको सूचीमा नपरेपछि नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रभाव रहेको रुपन्देहीबाट एकजनाको पनि नाम सूचीमा छैन।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीबाट एमालेले समानुपातिक तर्फ खस आर्यमा नन्दिकेशर ढकाल, भूमिलाल सापकोटा, बुद्धिसागर भट्टराई, महिलामा गुमादेवी आचार्य, मधेसीमा सुनिता ठटेर, मुस्लिममा एजाज आलम, थारूमा खुसीराम चौधरी, दलितमा एकराज विश्वकर्मा र जोगलाल विश्वकर्मा, आदिवासी जनजातिबाट खेमराज गुरूङ, जनजाति महिलामा हिरामाया थापा र अपांगता भएकाबाट सावित्रा घिमिरेको नाम सिफारिश गरेको थियो।
एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले समानुपातिक सूचीमा रुपन्देहीबाट कसैको नाम नपर्नु दुखद् भएको बताए।
समानुपातिक सूचीमा एमाले रुपन्देही शुन्य भएपनि नेकपा एमाले लुम्बिनी पूर्व प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा संघ पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवर राष्ट्रिय स्वतन्त्र पार्टीको सूचीमा छन्। महाधिवेशनअघि प्रतिनिधि छनोटमा भुसाल पराजित भएकी थिइन्।
युवा संघमा काम गरेकी कुँवर भदौ २३ र २४ गतेको जेनजीहरूको आन्दोलनपछि युवा संघ छोडेको घोषणा गरेकी थिइन्।