© 2026
नेपाल भारत खुला सीमाको फाइदा उठाउँदै दलालहरूले नेपालका चेलीबेटीलाई भारत हुँदै तेस्रो मुलुक पु¥याउने गरेको बर्षौ भैसकेको छ ।
पछिल्लो समय यसमा नियन्त्रण भयो कि भन्ने ठानिएको थियो तर अझै पनि मानव बेचबिखनको ट्रान्जिट पोइण्ट खुला सीमा बनिरहेका छन् । यस्तै मानव बेचबिखनको जोखिममा परेका चेलीलाई माइती नेपाल आवधिक गृह भैरहवाले एक वर्षको अवधिमा दुई सय बढी महिला तथा किशोरीलाई सीमा नाकाबाट उद्धार गरेको तथ्याङ्कले यो समस्या अझै पनि विकराल रहेको देखिएको छ ।
सीमामा निगरानी, बेचबिखन रोकथाम, बेचिएकाको उद्धार तथा पीडित परिवारलाई समाजमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको छ । तर, समस्या कम होइन बरु झनै बढिरहेको देखिएको छ । उद्धार गरिएका महिला तथा किशोरीहरूमध्ये अधिकांश बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ ।
चेलीबेटीको क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाको निगरानीमा नपरेकाहरू अझै कति यस बेचिएका होलान् ? तिनको आधिकारिक तथ्याङ्क अहिले पनि सार्वजनिक हुन सकेको छैन । गरिबी, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगबाट प्रेम सम्बन्धमा परेर नक्कली विवाह, नेटवर्किङ व्यवसाय तथा आकर्षक तलबको प्रलोभनमा नेपाली महिलाहरू बेचबिखनमा पर्ने गरेको देखिएको छ ।
त्यसमाथि जनचेतनाको अभाव, घरेलु हिंसा तथा प्रभावकारी अनुगमन नहुनु बेचबिखन नियन्त्रणमा चुनौती बनेको छ । बेचबिखनमा संलग्न व्यक्ति प्रायः आफन्त वा चिनजानकै हुने भएकाले पीडितले उनीहरूविरुद्ध उजुरी दिन नचाहनु पनि अर्को चुनौती रहेको छ ।
आकर्षक तलब दिलाउने भन्दै म्यानपावर व्यवसायीको आश्वासनमा खाडी राष्ट्र पुगेकाहरूको अवस्था अहिले इन्तु न चिन्तु भएको छ । महिलाहरू इराक, मलेसिया, कतार, दुबई, बहराइन, जोर्डन लगायतका देशमा दलालहरूको ठगीमा परेका समाचार सार्वजनिक हरेक दिन जसो आइरहेका छन् ।
तीमध्ये कति त विदेशमै प्राण त्याग गर्न बाध्य भएका छन् । घरमा काम गर्ने महिलाहरूको अवस्था दर्दनाक हुन्छ । उनीहरूले सुनाएको पीडाले अबको दिनमा कोही पनि वैदेशिक यात्रामा जानु नपरोस् भन्ने लाग्छ । यद्यपि असुरक्षित वैदेशिक रोजगारीका कारण त्यो अवस्था आएको छ तर धेरै महिलाहरू अझै पनि असुरक्षित तवरले विदेश पुगिरहेका छन् । उनीहरू नारकीय जीवन बिताउन बाध्य भएका छन् ।
पछिल्लो केही घटनाक्रमले मानव तस्करीको जालो क्रमिक रूपमा बढ्दै जान थालेको स्पष्ट हुन थालेको छ । मानवीय तथा सामाजिक दृष्टिकोणबाट निकै निन्दनीय यो कार्य रोक्न निकै जरुरी छ । मानिसको जीवनसँग उसको घरपरिवार, राष्ट्र तथा समाजको सम्बन्ध गाँसिएको हुन्छ ।
निज कुनै किसिमले प्रभावित भएमा ऊसँग सम्बन्धित पक्षहरूसमेत प्रभावित हुनु स्वाभाविक छ । अबको दिनमा यस प्रकारका घटना नियन्त्रण गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण हुनेमा शङ्का छैन । प्रहरी प्रशासनले निकै सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुको विकल्प पनि छैन ।
खासगरि नेपाल भारत सीमा नाकामा निगरानीको खाँचो छ । व्यक्तिको बाहिरी आवरण तथा शैलीबाट धेरै कुरा प्रस्ट हुन सक्छन् । खास गरी नेपाल प्रहरीले यस विषयमा ध्यान दियो भने निश्चित रूपमा समस्या न्यूनीकरणमा बल पुग्नेछ ।
त्यसै गरी चेलीबेटी रोकथामसँग सम्बन्धित धेरै संस्थाहरू अहिले पनि नेपाल भारत सीमावर्ती क्षेत्रमा कार्यरत छन् । नेपाल प्रहरी र प्रशासनसँगको सहकार्यमा प्रलोभनमा पारेर विदेशतर्फ लैजाँदै गरिएका नेपाली चेलीलाई सीमाबाटै रोक्नु जरुरी छ ।
अबको दिनमा दलालको भ्रामक र मिथ्या प्रलोभनमा पर्ने कामबाट टाढै हुनु बुद्धिमानी हुनेछ । निश्चित रूपमा मानव तस्करी धन्दा अहिले फस्टाएको छ । मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो ।
तसर्थ अबको दिनमा सरकार, नागरिक समाज, प्रहरी प्रशासन र बेचबिखन विरुद्ध काम गर्दै आएका सङ्घ संस्थाको पहलमा वर्षौँदेखिको यो समस्या नियन्त्रणमा गम्भीर भएर लाग्नु जरुरी छ ।