© 2026
बुटवल, १५ पुस ।
शीतलहरका कारण सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको आवागमन बन्द भएको छ ।
दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरका कारण सडक भिज्दा सवारी साधन चिप्लिएर गुड्न नसकेपछि करिब १५ घण्टादेखि यातायात सञ्चालन हुन नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेले जानकारी दिए ।
सडकमा सवारी साधन चल्न नसक्दा बर्दघाट र दुम्कीबासतर्फ गाडीको ठूलो लाम लागेको उनले बताए । शीतलहरको प्रभाव कम भएपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।
निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत अन्य स्थानमा यातायात सहज भए पनि दाउन्ने खण्डमा अझै काम बाँकी रहेको छ । काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा जाममा फसेको बताए ।