Butwal Today

थारु समुदायको विकासका लागि सहकार्य अपरिहार्य: थारु

१४ पुष २०८२, सोमबार
अ+
अ-

चन्द्रौटा, १४ पुस । थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशङ्कर थारुले थारु समुदायको विकास लागि सबैको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४, बुड्ढी तालमा भएको माघी (खिचडी) महोत्सवबारे अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थारु समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी र सांस्कृतिक पहिचान संरक्षणमा विशेष ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । समुदायभित्र एकता, सहकार्य र नेतृत्व विकास भए मात्र दिगो प्रगति सम्भव हुने उनको भनाइ छ ।
सरकारी निकाय, गैरसरकारी संस्था तथा सचेत नागरिकलाई थारु समुदायको उत्थानका लागि हातेमालो गर्न सदस्य थारुले आग्रह गरे । युवा पुस्तालाई सीपमूलक तालिमतर्फ अग्रसर गराउनुपर्ने बताउँदै पहिचान बचाउनु मात्रै नभए शैक्षिक स्तर पनि उकास्नुपर्ने उनले बताए ।
यस्तै शनिबार कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) कपिलवस्तुका सभापति पवन कुमार थारुले आफ्नो समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक लगायतको क्षेत्रमा कार्य गर्न थाकसको उद्देश्य रहेको प्रष्ट पारे । “साँस्कृतिक उद्देश्य करिब–करिब पुरा भइसकेको छ । अन्य क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ ।”
वडा नम्बर–४, बुड्ढी तालमा यही पुस २९, ३० र माघ १ गतेसम्म नगरस्तरीय माघी (खिचडी) महोत्सव हुने थाकस नगर कार्यवाहक सभापति सुशील चौधरीले बताए ।
थारु जातिको नयाँ वर्ष २६४९ लाई उत्सवका रूपमा मनाउँदै भाषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए ।
“हम्मन संस्कृति, हम्मनके सान, भूमि पुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मूल नारासहित सञ्चालन हुने सभापति चौधरीले जनाए । सामाजिक उत्तरदायित्व मार्फत थाकसले यही पुस २८ गते रक्तदान कार्यक्रम समेत आयोजना भएकोले सहभागी हुन उनले आग्रह गरे ।
भेषभुषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने थाकसले जनाएको छ । “हम्मन संस्कृति, हम्मनके सान, भूमि पुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सवले थारु जातिको अस्तित्व जोगाउने अभियानको रूपमा लिइएको छ ।
महोत्सवमा थारु भाषा, कला र संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी, थारु खानाका परिकारका स्टल, सांस्कृतिक झाँकी तथा झुमरा, झर्रा, बड्का, लाठी, मयूर नाच लगायतका नृत्यहरू प्रस्तुत गरिनेछन् ।
सजनी–विरहनी, रेकर्ड डान्स प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकको दाबी छ ।