© 2026
नवलपरासी, १४ पुस । थारु समुदायको लोकप्रिय परिकार मध्ये घोँघी अहिले खुल्ला रूपमै बिक्री वितरण हुन थालेको छ । थारु मात्रै नभई अन्य समुदायले चासो लिई उक्त घोँघी खान थालेका कारण बजार र चोक चोकमा बिक्री वितरण हुन थालेका हुन् । माछा जस्तै घोँघीले पनि अब बजार पाउन थालेको छ ।
जसले गर्दा माछापालक किसानहरू घोँघी पनि सङ्कलन गरि बिक्री वितरण तर्फ आकर्षित हुन थालेको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकमा घोँघी बेच्दै गरेका एक किसानले सुनाए । पोखरीमा पहिला घोँघी त्यसै छाडिदिन्थ्यौँ, तर अहिले यसको माग बढ्दो छ ।
त्यही भएर पोखरी तथा अन्य जलाशयबाट पनि सङ्कलन गरि तरकारीसँगै बेच्दै गरेको देखाए । प्रति केजी १ सय ५० रुपियाँ देखि १ सय २० रुपियाँसम्म आफूले बिक्री गर्दै आएको सुनाए । पहिला थारु समुदायका महिलाहरू जलाशयहरूमा घोँघी सित्तैमा सङ्कलन गरेर लैजाने गरेका थिए ।
तर पछिल्लो समय बजारमा पाइए किनेर नै मान्छे लैजान खोजे पछि सङ्कलन गरि ल्याइएको उनको भनाई थियो । घोँघी स्वास्थ्यकर परिकार हो, उनले भने, पहिला थारु जातीलाई घोँघी खाने जात भन्दै थारु जातीलाई घोँघी भनेर प्रायबाजी नाम नै प्रयोग गर्ने गरेका थिए, तर अहिले उक्त घोँघी थारु समुदायमा मात्रै सीमित रहेन्, माछा जस्तै मधेसका अन्य समुदायले पनि खान रुचाउन थाल्दा यसको माग पनि माछा जस्तै हुन थालेको छ ।
हुन त अहिले माछा जस्तै व्यावसायिक पालन भई रहेको छैन । प्राकृतिक जलाशय, पोखरी तथा माछा पालन भएका पोखरीमा पनि घोँघी आफै आउँछन् । तर माग बढ्दै गयो भने माछा पालन जस्तै घोँघीको पनि पालन हुन सक्ने अवस्था देखिएको उनको भनाई थियो ।
घोँघी खाने जात थारु भनेर चिनिने अहिले सबैको मिठो परिकार बन्दै गएको सरावल गाउँपालिकाका अध्यक्ष समेत रहेका सुखाडी चौधरीले बताए । उनका अनुसार सरावल २ मनरी स्थित थारु सांस्कृतिक पार्क नजिकै थारु रिसोर्टमा त घोँघी खाने भनेर नै अर्डर आउने गरेका छन् ।
राजमार्ग क्षेत्रमा पनि धेरै होटलमा घोँघी एक परिकार पस्किने गरिएको छ । समुद्री किनारमा सिफुड जस्तै यस क्षेत्रमा अहिले घोँघी धोई पखाली सिधै पकाउने गरिएको छ । घोँघीको झोल बनाउने झोलसँग भात रोटी खाने र घोँघी भित्र रहेको मासुको भाग मुखले जोड लगाई तान्ने (सर्कने) गरि खाने गरिन्छ ।
पौष्टिक खानाको रूपमा रहेको घोंघीमा प्रोटिन, क्याल्सियम, आइरन र जिंक प्रशस्त हुन्छ, जसले शरीरलाई शक्ति दिन्छ । साथै घोँघीको खानेको हड्डी बलियो बनाउँछ, क्याल्सियम धेरै हुने भएकाले हड्डी र दाँत मजबुत हुन्छन् ।
रगत बढाउन मद्दत, आइरनको मात्रा राम्रो भएकाले रगतको कमी (एनीमिया) मा फाइदा पु¥याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ पोषक तत्त्वका कारण शरीरको इम्युनिटी मजबुत हुन्छ । शक्ति प्रदान गर्छ मेहनत गर्ने व्यक्तिका लागि राम्रो ऊर्जादायी खाना मानिन्छ ।
व्यवसाय गर्न सकियो भन्ने आयआर्जनको स्रोत, घोंघी सङ्कलन, पालन तथा बिक्रीबाट स्थानीय स्तरमा आम्दानी गर्न सकिन्छ । परम्परागत औषधीय प्रयोग पनि गर्ने गरिन्छ जसमा केही समुदायमा घोंघीलाई कमजोरी, थकान आदिमा उपयोगी मानिन्छ ।