Butwal Today

औद्योगिक प्रदर्शनी: जहाँ किन्न मात्र होइन सिक्न पनि पाइन्छ

१४ पुष २०८२, सोमबार
अ+
अ-

बुटवल, १४ पुस ।

गुल्मी रुरुक्षेत्र गाउँपालिका –४ का विनोद ज्ञवाली आइतबार बुटवलमा जारी औद्योगिक प्रदर्शनीका भेटिए । मेलामा आउनु उनको एउटा मात्र प्रदर्शनी थियो–केही नयाँ उद्यमको खोजी । विदेशी भूमिका धेरै वर्ष पसिना बगाइ सकेका ज्ञवालीलाई नेपालमै बसेर केही काम गर्ने हुटहुटी छ ।

“धेरै वर्ष विदेशमा काम गरियो अब यही केही गर्ने सोच छ ।” उनी भन्छन्–“ प्रदर्शनीबाट केही नलेज लिन सकिन्छ कि भनेर पसेको ।” उमेर हेर्दा प्रदर्शनीको गीतसङ्गीत नाचगानले ध्यानाकृष्ट हुनु पर्ने देखिए पनि उनको मन स्टलहरूमा थियो ।

प्रदर्शनी स्थलमा राखिएका एग्रिकल्चर पेभिलियनका स्टलमा उनको ध्यान थियो । कृषि औजारको बारेमा पनि जानकारी लिएको उनले बताए । केही समय उनी सायला एग्रो इन्जिनियरिङको स्टलमा हाईड्रोलिक पावर प्रेस मेशिन, ब्लक मेशिन मेटल कटिङ मेसिनको बारेमा जानकारी समेत लिए ।

त्यस्तै रुपन्देही सियारी गाउँपालिका–५ छपियाका रामानन्द केवट पनि ग्रार्मेट पेभिलियनको स्टलमा अवलोकन गरिरहेको भेटिए । उनको ध्यान अल्लो, भागोबाट बनेका आकर्षक तयारी पोसाक र सम्बन्धित सामग्री तिर थियो ।

उनले त्यहाँ तयारी पोसाक खरिद गर्न गएका थिएनन् । कसरी बन्छ भन्ने हेर्न र वुझ्न गएका थिए । केराको रेसाबाट कपडा तथा उपभोगजन्य बस्तु उत्पादन गर्न सकिन्छ भन्ने सुनेका उनले केराको रेसाबाट बन्ने सामग्रीको अध्ययन गर्न चाहेका थिए ।

“अल्लो र भागोको रेसाबाट राम्रो कपडा बन्दो रहेछ पहिले सुनेको थिएँ अहिले हेर्न पनि पाएँ ।” उनले भने– “केराको रेसाबाट पनि कपडा र दैनिक उपयोग गर्ने सामान बनाउन सकिन्छ भन्ने सुनेर त्यो पनि हेर्छु बुझ्दछु भनेर यहाँ आएको हुँ ।”

केराको रेसाबाट तयार गर्न सकिने बस्तुको बारेमा उनले त्यहाँ धेरै कुरा बुझ्न नपाए पनि भागो र अल्लोको सामान बनाउने उद्यमीबाट केही जानकारी मिलेको उनले बताए । उनले आफ्नो खेतमा खेर गएको केराको थामबाट फाईवर उत्पादन गरी त्यसको विविधीकरण गर्न चाहेको बताए ।

प्रदर्शनीमा अवलोकन गर्न आएका दर्शकहरूले प्रदर्शनीमा सामान मात्र खरिद गर्न मात्र नभए नयाँ उद्यमको खोजीको लागि समेत टेवा पु¥याएको बताएका छन् । सियारी गाउँपालिका –५ छपियाका रामानन्द भन्छन्– “प्रदर्शनीमा केही कुरा देखेर सिक्न पाईयो, मैले डेमोसेसन सहितको हेर्न चाहेको थिए तर यहाँ रहेनछ, केही गर्नु पर्छ भन्ने शिक्षा यो प्रदर्शनीबाट पाउन सकिन्छ ।मलाई उत्प्रेरणा मिलेको छ ।”

औद्योगिक प्रदर्शनीमा महिला उद्यमी तथा कृषि र प्रविधिका स्टलहरूमा अवलोकनकर्ताको चासो लिएको पाईएको छ । पुस १७ गतेसम्म संचालन हुने यो राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरूका स्टल रहेका छन् ।

संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीहरूको रहेका जानकारी दिए । घरेलु उत्पादन, सामूहिक उत्पादन, हस्तकला लगायतका उत्पादनहरूलाई महिला उद्यमीहरूले प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीमा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नका लागि विशेष सहुलियत दिइएको छ । महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीले प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताहरू महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रित गरेको बताउँछिन् । “ती वस्तुहरूको बिक्री वितरण पनि राम्रो छ । उनी भन्छिन– उद्यमी महिला दिदी बहिनीहरू उत्साहित हुनुहुन्छ ।”

अरू स्टलहरूमा भन्दा महिला उद्यमहरूको स्टलमा पुग्नेहरूको भीड लागेको छ आयोजक रुपन्देही उद्योग संघले महिला उद्यमीहरूलाई प्राथमिकता दिएर प्रदर्शनीमा स्थान दिएको हो ।

नयाँ प्रविधि, उद्यमशिलताको प्रदर्शन गर्ने, जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको बीचको सम्पर्क स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे छलफल, विचार विमर्स र प्रत्यक्ष अवलोकन गर्ने गराउने उद्देश्यले नै प्रदर्शनी गरिएको संघका अध्यक्ष एवं प्रदर्शनी आयोजक मुल समितिका संयोजक कृष्ण प्रसाद पराजुली बताउछन । उनले स्वदेशी उत्पादनलाई मात्र स्थान दिएको उनले बताए ।

“केही उद्यम गरौं भन्नेहरूको लागी यो प्रदर्शनी सिकाईको माध्यम समेत बनोस भन्ने चाहेका छौं ।” उनले भने –‘मलाई लाग्छ यो प्रदर्शनी उद्यमी, उद्यमशिल गर्न चाहने, उत्पादक र उपभोक्ता समेतको साझा थलोको रूपमा छ ।’

प्रदर्शनीमा पर्यटन प्रवद्र्धन, कृषि तथा उद्यमशिलताको विषयमा कार्याशाला गोष्ठी समेत आयोजना भएका छन् । कार्याशाला गोष्ठीका संयोजक डिल्लीनारायण पाण्डेयले प्रदर्शनीमा मनोरन्जन र बिक्री वितरण मात्र नभई उद्यमशिलतामो लागि प्रेरणा र हौसला मिल्ने गरी वौद्धिक वर्ग र विज्ञहरू सहितको कार्यशाला गोष्ठी, छलफल विचार विमर्श आदीले सम्वन्धीत लाभान्वित भएको बताए ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरू निर्माण गरिएको छ । ५ सय स्टलको व्यवस्थापन गरेपनि १ सय ४० वटा स्टल छानविनको क्रममा स्वीकृत नभएपछि ३ सय ६० स्टल प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा ३९ जिल्लाबाट स्टल सहभागिता रहेको छ ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भएको प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । दिनहुँ दर्शकको भिड बढेकाले आयोजक उत्साहित भएका छन् ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरूको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडलले दर्शकको मन तानेको छ । प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार जनाले अवलोकन गर्नु भएको थियो भने आइतबार पनि दर्शकको घुइँचो थियो ।

प्रदर्शनी अवलोकनको लागि नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत अवलोकनको लागि आएका छन् । औद्योगिक विकासको लागि छिमेकी मुलुकबाट सिक्न सकिने धेरै विषयवस्तु रहेकाले निमन्त्रणा गरेर उनीहरूलाई अवलोकन गराईएको प्रदर्शनीका संयोजक पराजुलीले बताए ।

केही दिन अघि भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन गर्नुका साथै अन्तक्र्रिया समेत गरेको थियो ।