Butwal Today

देश पराधीनताको बढ्दो चिन्ता 

१४ पुष २०८२, सोमबार
अ+
अ-

आगामी फागुन २१ गते सरकारले आम निर्वाचन घोषणा गरेको छ । आफ्नो प्रतिनिधिलाई भोट हाल्ने इच्छा र चाहना कसलाई हुँदैन ?

तर मुलुक निर्वाचनमा होमिँदा युवा भने वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । नेपालमा पर्याप्त रोजगारीको अवसर नहुँदा युवाहरूलाई निर्वाचन पर्खिने अवस्था समेत छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार मङ्सिरमा ६५ हजार ७ सय ५ नेपाली वैदेशिक रोजगारीका लागि उडेका छन् ।

यही रफ्तारमा महिनामै ६५÷७० हजार युवा विदेश पलायन हुने हो भने नेपालमा बस्ने को ? प्रश्न उत्पन्न भएको छ । मङ्सिरमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेको छ । मङ्सिरमै ५० हजार ५ सय जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने कार्तिकमा ३६ हजार ८७ जनाले स्वीकृति लिएका थिए ।

यसरी स्वदेश फर्किएकाहरू पनि दोहोरिएर विदेश उडिरहेका छन् । नेपाली रोकिने अवस्था छैन किनभने नेपालमा अवसर नै छैन । उही राजनीतिक अस्थिरताले मुलुक गिजोलिएको छ । प्रत्येक महिना वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्ने हो भने नेपाल युवाविहीन हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।

विभागका अनुसार कात्तिक महिनामा ५५ हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । यस आधारमा कात्तिक महिनाको तुलनामा मङ्सिर महिनामा झन्डै १० हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

विदेश जाने लर्को यही रफ्तारमा वृद्धि हुने हो भने अबको केही वर्षमा नेपाल युवाविहीन हुने र बूढाबूढीको देश मात्रै बन्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । नेपालीहरूले अहिले एक सय बढी देशमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

यो तथ्याङ्कले के देखाएको छ भने नेपालीहरूको रोजगारीको गन्तव्य अव खाडी मुलुक मात्र होइन, युरोपसहितको एक सय बढी देश भएका छन् । कामका लागि पलायन हुनेको सङ्ख्या उच्च हुँदा शिक्षा हासिल गर्न विभिन्न मुलुक जानेको सङ्ख्या पनि उत्तिकै छ ।

विडम्बना के हो भने सरकारले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन । जसका कारण विदेश जानेको संंख्या निरन्तर उकालो लागिरहेको छ । दिनहुँ दुई हजार बढीले आफ्नो मातृभूमि छोड्न बाध्य भइरहेका छन् । यो युवाहरूका लागि रहर होइन बाध्यता हो ।

चिन्ता के हो भने यही रफ्तारमा वैदेशिक रोजगारी बढिरहने हो भने पहाड खाली भएर सहर र सहर पनि खाली भएर नेपाल युवाविहीन देश बन्ने हो कि भन्ने छ ।
पछिल्लो जेनजी आन्दोलनपछि पनि युवाहरू स्वदेशमा रोकिएका छैनन् ।

जेनजी आन्दोलनपछि मुलुकमा राजनीतिक स्थिरता हुँदैन कि भन्ने चिन्ताले समेत युवा पलायन बढिरहेको देखिएको छ । निर्वाचनपछि देशमा रोजगारीको ढोका खुल्छ भन्ने त्यो सम्भावना पनि छैन । यो अनिश्चयको भुमरीमा बस्नुभन्दा विदेश जानु बढी श्रेयष्कर हुने लत देखिएको छ ।

नेपालमा अझै १० वर्ष यही अवस्था रहने हो भने देश रित्तो हुने स्थितिप्रति विज्ञहरूले चिन्ता प्रकट गरेका छन् । सबैको एउटै चिन्ता छ– नेपालमा राजनैतिक अस्थिरताकै कारण युवाको गन्तव्य विदेश बन्दै छ । स्वदेशमै बसेर केही गर्छु भन्नेलाई पनि वातावरण छैन ।

युवा पुस्तालाई मुलुकमै रोक्न सरकारले कुनै पहल गरेको छैन । नेपालको दक्ष जनशक्ति सबै बाहिर गएपछि मुलुक कसले बनाउने ? सबैले सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने विषय हो । अर्को चिन्ता के छ भने पछिल्लो समय नेपाली नागरिकता त्याग्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुक पुगेका अधिकांश नेपालीहरू अव नेपाल होइन, विदेशलाई नै आफ्नो घर बनाउन थालेका छन् । यसले नेपाल झनपछि झन पराधिन बन्दै जाने हो कि भन्ने चिन्ता बढेको छ ।