Butwal Today

गुल्मेली खुदो बाट ‘चकलेट’ 

१४ पुष २०८२, सोमबार
अ+
अ-

गुल्मी, १४ पुस । 

गुल्मी जिल्लामा परम्परागत रूपमा प्रयोग हुँदै आएको उखुबाट उत्पादन हुने खुदोलाई व्यावसायिक रूपान्तरण गर्दै अब चकलेट उत्पादन सुरु गरिएको छ ।

स्थानीय कच्चा पदार्थको मूल्य अभिवृद्धि, उखु खेतीको प्रवर्द्धन तथा स्वरोजगार सिर्जनालाई लक्ष्य गर्दै खुदोबाट चकलेट बनाउने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा सञ्चालन गरिएको उक्त कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गुल्मीको ग्रामीण अर्थतन्त्रमा उखु खेतीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उखुबाट उत्पादन हुने खुदोलाई आधुनिक प्रविधिसँग जोडेर चकलेट उत्पादन गर्न लागिएको बताए ।

यसबाट किसानलाई उखु खेतीतर्फ आकर्षित गर्नुका साथै उत्पादनको बजार सुनिश्चित गर्न सहयोग  पुग्ने उनले बताए । अध्यक्ष ज्ञवालीले गाउँपालिकाले स्थानीय स्रोतमा आधारित उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

उक्त कार्यक्रमका घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले उखु खेतीबाट उत्पादित खुदो हालसम्म सीमित प्रयोगमै रहेको उल्लेख गर्दै प्रविधि हस्तान्तरण मार्फत खुदोलाई चकलेटमा रूपान्तरण गरेसँगै किसानको आम्दानी बढ्ने र घरेलु उद्योग प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक उत्पादनमा जोड दिनका लागि सहभागीहरूलाई आग्रह गरेका थिए । तालिममा उखु खेती र खुदो उत्पादनको आधारभूत जानकारीसँगै खुदोबाट चकलेट बनाउने आधुनिक प्रविधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा बजारीकरण सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने जनाइएको छ ।

गुल्मी जिल्लामा विगतदेखि उखु खेती हुँदै आए पनि बजार र प्रशोधनको अभावमा किसानले अपेक्षित लाभ लिन नसकेको गुनासो गर्दै आइरहेका छन् । खुदोबाट चकलेट उत्पादन सुरु भएसँगै उखु खेतीको महत्त्व बढ्ने र जिल्लामा नयाँ पहिचान स्थापित हुने विश्वास गरिएको छ ।

जिल्लामा प्रशोधन र बजार अभावका कारण उखुबाट उत्पादन हुने खुदो परम्परागत प्रयोगमै सीमित बन्दै आएको छ ।