Butwal Today

हुलाकी सडकका खाल्डा दुर्घटनालाई ‘निम्ता’

सडक भत्किएपछि साना तथा ठुला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ भने साना सवारीसाधन मोटरसाइकल, साइकल, ई रिक्सा तथा पैदल यात्रु थप जोखिममा पर्ने गरेका छन् ।
१३ पुष २०८२, आइतबार
अ+
अ-

बाँके,  १३ पुस । 

नेपालगन्ज बजारको मुख्य चोक नजिकै पर्ने हुलाकी सडक भत्किँदा दैनिक ओहोरदोहोर गर्ने यात्रु तथा स्थानीयवासीले सास्ती भोग्नु परेको छ ।

नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत धम्बोझी चोक नजिकै सडकमा डुलो र खाल्डो परेपछि सवारी आवागमन प्रभावित बनेको हो । व्यस्त बजार क्षेत्र भएकाले बिहान र साँझको समयमा जामको समस्या समेत देखिन थालेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का स्थानीयवासी राम सुरत कुर्मीका अनुसार केही दिनअघि मात्र त्यही खाल्टोको कारणले दुर्घटना भएको थियो । बर्खामा हिलो र जाडो र गर्मीले गर्दा सडकको अवस्था झन् बिग्रिएको हो ।

“पहिले सानो खाल्डो थियो, तर समयमै मर्मत नगर्दा अहिले ठुलो ठुलो बनेको छ,” एक स्थानीयले कुर्मीले बताए । उनका अनुसार रातको समयमा सडक नदेखिँदा दुर्घटनाको जोखिम अझै बढ्दै गएको छ ।

यो सडक कार्यालयको लापरबाही हो यसलाई समयमै मर्मत गरेको भए यस्तो अवस्था हुने थिएन र मर्मत गरेको भए खर्च समेत कम लाग्ने थियो तर यसलाई जानी जानी जटिल बनाएको गुनासो समेत गरे ।

यात्रुहरू पनि सडकको दयनीय अवस्थाप्रति गुनासो गरिरहेका छन् । “हुलाकी सडक जस्तो मुख्य मार्गको अवस्था यस्तो हुँदा निकै दुःख लागेको छ,” यात्रु विमल थारुले भने, “सम्बन्धित निकायले छिटो ध्यान नदिए ठुलो दुर्घटना हुन सक्छ ।”

हामी बुढा बुढी बर्दिया देखि दैनिक कामको लागि आउने गरेका हुन्छौ तर एक वर्ष भन्दा बढी भयो यसलाई मर्मत गर्नका लागि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । एक त हुस्सु र सित लहर चल्ने सिजन भएको कारणले झन् जोखिम बढेको यात्रु थारुले गुनासो गरे ।

हल सम्म यो खाल्डोमा सामान्य दुर्घटना भएको देखेको छु तर अब यो खाल्डोमा ठुलो दुर्घटना नभए सम्म मर्मत नहुने जस्तो देखिन्छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का होटेल व्यवसायी राजकुमार थारुले हुलाकी सडक आयोजनाका सम्बन्धित निकाय तथा स्थानीय प्रशासनलाई तत्काल सडक मर्मत गरी सुरक्षित आवागमनको व्यवस्था गर्न माग गरेका छन् ।

व्यस्त बजार क्षेत्रमै सडक भत्किँदा दैनिक जनजीवन प्रभावित बनेको भन्दै समस्या समाधानमा ढिलाइ नगर्न उनीहरूको आग्रह छ । उनले भने, नेपालमा बाटो भत्किँदा सुरुमै मर्मत गरिँदैन ठुलो भएपछि मर्मत गर्न सुरु गर्छन् र त्यसमा पनि ठेकेदारको लापरबाहीले गर्दा बर्षौ लाग्ने भएको हुन्छ ।

यो खाल्टो सानो थियो त्यही वेला मर्मत गर्नु पर्ने हो तर चासो हुँदैन कुन दिन ठुलो दुर्घटना हुन्छ अनि सबैले चासो देखाउँछन् । यता हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारीका ई.राम सागर हरिजनका अनुसार बाटो मर्मतका लागि केही समयमै ठेक्का आह्वान गरेको बताएका छन् । उनले भने, ठेक्का आह्वान गरिएको छ ।

अबको एक महिनामा ठेक्का सम्झौता गरेर काम अगाडि बढाउने बताए । यात्रु र स्थानीयहरूले धेरै समय सास्ती भोग्नु पर्दैन अबको केही समयमै त्यो मात्र होइन हुलाकी सडकका धेरै खाल्डोहरूको मर्मत हुने बताएका छन् ।