Butwal Today

एनभीए भलिबल च्याम्पियनशिप: महिलातर्फ आर्मी र एपीएफको लगातार दोस्रो जीत

१३ पुष २०८२, आइतबार
अ+
अ-

 काठमाडौँ ।

 नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले लगातार दोस्रो जीत हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णालीको चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–९ ले जित्यो । प्रतियोगितामा चुली युवा क्लबको यो लगातार दोस्रो हार हो ।

यस्तै महिलातर्फ आजै भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–६, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–१२ ले जित्यो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो हार हो ।

एनभीए भलिबल च्याम्पियनशिप पुरुषतर्फ आज हेल्प नेपाल स्पोर्ट्स क्लब र मणिमुकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र अर्घाखाँचीको खिल्जी युवा क्लबले खेल्ने छन् ।

प्रतियोगिता यही पुस १९ गतेसम्म चल्नेछ । महिलातर्फ ८ टोली र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ ।