चन्द्रौटा, १२ पुस ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचारप्रसारमा सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्ने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा शनिबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने भएकाले आयोजक, व्यवसायी र सञ्चारकर्मीबीच समन्वय आवश्यक रहेको उनले बताए । “महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, स्थानीय उत्पादनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र नयाँ प्रतिभालाई अवसर दिने थलो बन्नुपर्छ”ः अध्यक्ष भुसालले भने । पछिल्ला वर्षमा महोत्सवहरू व्यापारमुखी बन्दै गएको उल्लेख गर्दै स्थानीय उत्पादन र प्रतिभालाई प्राथमिकता दिन जरुरी रहेको भुसालले धारणा राखे । यस्तै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेद अलि मियाले विगतमा धेरै चुनौती झेलेको चन्द्रौटा अहिले शान्त क्षेत्रको रूपमा विकास हुँदै गएको बताए । आर्थिक मन्दीकाबीच यस्ता महोत्सवले स्थानीय बजार चलाउने उनले जिकिर गरे ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवको संयोजक ईश्वरी पाण्डेले चन्द्रौटाले भोगेका घटनाको स्मरण गर्दै यस्ता महोत्सवले क्षेत्रलाई देशभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताए । उनले महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन, स्थानीय प्रतिभाको प्रदर्शन तथा जेष्ठ नागरिक सम्मानको कार्यक्रम राखिएको उनको भनाइ छ । उनका अनुसार यस वर्ष महोत्सवमा मम्मी डान्स आइडल विशेष आकर्षणका रूपमा रहनेछ । लन्डन ब्रिज, जलपरी, आइफिल टावरजस्ता संरचनात्मक आकर्षण र चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षणको रुपमा रहनेछ ।
१०औँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला–२०८२’ को सम्पूर्ण तयारी पूरा संघका महासचिव राजकुमार क्षेत्रीले बताए । उनले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य तथा स्थानीय कला–संस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू रहने बताए । महोत्सवले स्थानीय क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने आयोजकको भनाई छ । संघको आयोजनामा हुने महोत्सव पुस १३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाकै ठूला मेलामध्ये एक मानिने चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकलाई नयाँ स्वाद र फरक अनुभव दिने तयारी गरिएको आयोजकले जनाएको छ ।