© 2026
सल्यान, १३ पुस ।
पहाडी भेगमा उत्पादन हुने मसला बाली अलैँची खेतीलाई सल्यानका किसानहरूले बिस्तार गर्दै लगेका छन् ।
पछिल्लो समय जिल्लाको सिद्धकुमाख, कुमार र दार्मा गाउँपालिका किसानहरू नगदेबाली अलैँची खेतीतर्फ उत्साहित देखिन्छन् । जिल्लाभर किसानले करिब १५ हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती गर्दै आएको जिल्लाको कृषि तथ्याङ्कले देखाएको छ ।
जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले पछिल्ला वर्षहरूमा राम्रो भाउ पाएपछि किसान अलैँची खेतीतर्फ आकर्षित देखिएको भन्दै १५ हेक्टर बढी जग्गामा अलैँची खेती भइरहेको बताए ।
जिल्लाका सबै पालिकाका किसानले छिटफुट रूपमा अलैँची लगाए पनि सिद्धकुमाख, कुमार गाउँपालिकाका किसानले सबै भन्दा बढी लगाएको उनको भनाई छ । गत वर्ष नौ मेट्रिकटन अलैँची बिक्री गरेर किसानले एक करोड रुपैयाँ आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
महेश आचार्य
कार्यालय प्रमुख
कृषि विकास कार्यालय सल्यान
अरू बालीजस्तो जङ्गली जनावरले खाइदिने डर नहुने भएपछि खोल्साखोल्सी, छाया पर्ने तथा चिस्यान भएको जमिनमा किसानहरूले अलैँची खेती गर्दै आएका छन् । खेतबारीमा लगाएका खाद्यान्न बाली जङ्गली जनावरले धेरै नै नष्ट गर्न थालेपछि विकल्पको रूपमा पनि किसानहरूले अलैँची खेतीलाई रोजेका हुन् ।
सिद्धकुमाख गाउँपालिका वडा नम्बर, ३ कालालेकका किसान दलबहादुर बुढाथोकीले आफ्नो १६ रोपनी धान रोप्ने खेतमा अलैँची खेती गरेका छन् । यो वर्ष मात्र उनले किलोको दुई हजार पाँच सय रुपैयाँको दरले बिक्री गरेर चार लाख कमाएको बताए ।
खेत तथा पाखो बारीमा बाली लगाउँदा जङ्गली जनावरले खाएर सखाप पार्ने गरेका कारण आफ्नो १० रोपनी जग्गामा अलैँची खेती गरेको कुमार गाउँपालिका, ७ च्युरानेटाका किसान अमृत खत्रीले बताए ।
अलैँची खेतीमा लागेपछि वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएको उनको भनाइ छ । सिद्धकुमाखकका अर्का किसान भद्रबहादुर बुढाथोकीले पनि १२ मुरी धान फल्ने खेतमा अलैँची खेती गरेका छन् ।
अलैँचीबाट राम्रो कमाई हुने र खेतीको लागि धेरै कष्ट उठाउन नपर्ने भएपछि खेती गरेका उनले यो वर्ष दुई लाख रुपैयाँ आम्दानी गरेका छन् ।
सिद्ध कुमार स्थित कालालेकका २५ घरपरिवारले खेतीयोग्य, बाँझो जग्गा, पानीको उपलब्धता भएका स्थानमा अलैची खेती गरेका छन् ।
यस्तै कुमार गाउँपालिकाका वडा नं ३, ६ र ७ का सय भन्दा बढी किसानले दुई सय बढी रोपनीमा अलैँची खेती गरेका छन् । एक पटक लगाएपछि बारम्बार रेखदेख गर्न नपर्ने भएकाले खोल्साखोल्सी एक सय भन्दा बढी अलैँचीका बोट लगाएको दार्मा गाउँपालिका, ५ का किसान धनवीर बुढाथोकीले बताए । अझै यसको खेती विस्तार गर्ने उनको योजना छ ।
यद्यपि नगदे बालीको रूपमा अलैँची खेती राम्रो भएता पनि सिचाइको समस्याले केही कठिनाइ भएको किसानहरूको भनाइ छ । कृषि विज्ञहरूका अनुसार सामान्यतया अलैँची रोपेको तेस्रो वर्षदेखि उत्पादन लिन सकिने भएता पनि छैंठो वर्षदेखि २० वर्षसम्म लगातार राम्ररी उत्पादन लिन सकिन्छ ।