Butwal Today

आत्महत्याका घटनाले बढाएको चिन्ता 

१३ पुष २०८२, आइतबार
अ+
अ-

आत्महत्या विश्वव्यापी मृत्युको प्रमुख एक कारण बन्दै गएको छ । नेपालमा मात्रै होइन, यो समस्या विश्वव्यापी बढ्दो छ ।

एक घण्टा अघि सबै कुराले ठिकठाक मानिस त्यसको केही घण्टापछि आत्महत्या रोजिसकेको हुन्छ । यो मानसिक समस्या मात्रै होइन, यसकापछि धेरै कारण छन जसले आत्महत्याका घटनाप्रति चिन्ता थपिदिएको छ । मानिस पछिल्लो समय कमजोर बन्दै गएको छ ।

मन कोमल भएर मात्रै होइन, परिस्थिति त्यसमा ठुलो जिम्मेवार मानिएको छ । त्यसो त सबैले आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा तनाव, चिन्ता, डिप्रेसनको मार बेहोर्नुपरेको छ । आत्महत्या कुनै चेतावनी बिना नै हुन्छ । त्यसले कुनै सङ्केत छोड्दैन ।

जोखिममा रहेका अधिकांश व्यक्तिहरूले आफ्नो जीवनको छोटो अवधिको लागि मात्र आत्महत्या को महसुस गर्छन् । आत्महत्या गर्नेहरू दुर्व्यवहार, पुरानो शारीरिक रोग, समाजबाट अपहेलित, निराशा, जीवनको उद्देश्य र भावनामा कमी, रक्सी वा लागूपदार्थको प्रयोगमा वृद्धि, प्रियजन र समुदायबाट अलग हुनु र नाटकीय मनोदशा परिवर्तन मुख्य कारण मानिन्छ ।

नेपालमा मात्रै दैनिक २५ जना नेपालीले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता छ । निश्चित रूपमा अहिले देशै भरी आत्महत्याको दर बढेको छ ।

आत्महत्या रोकथामका लागि परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान, अभ्यास लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । उता गृह मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनिकरण अभियान सुरू गरिसकेको जनाएको छ ।

आत्महत्याका घटना रोकथाम गर्न अव सरकारले हरेक अस्पताल, विद्यालय तथा पाठ्क्रममै मनोपरामर्शका कार्यक्रम चलाउनुपर्ने आवश्यकता बोध भएको छ । स्वास्थ्य मन्त्रालयको मापदण्डमा एकसय बेडभन्दा बढीको अस्पतालमा अनिवार्यरूपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको छ तर त्यो कार्यान्वयनमा आउन सकेको छैन् ।

यसतर्फ सरकारको ध्यान जाओस् । मानसिक चिकित्सकको व्यवस्थाले मात्रै पनि आत्महत्या नियन्त्रणमा मद्दत पुग्नसक्छ । अहिले देशै भरी आत्महत्याको दर बढिरहेको नेपाल प्रहरीको तथ्याँकले सार्वजनिक गरेको छ ।

दुई बर्ष अघिसम्म रूपन्देहीको रुद्रपुरमा आत्महत्याको विकराल अवस्था थियो । अहिले लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

अर्घाखाँचीमा पछिल्लो ७ बर्षमा चारसय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्याङ्क छ । नेपालमा वार्षिक तथ्याङ्क अनुसार औसत ७ हजार बढी व्यक्तिले आत्महत्या रोज्ने गरेको देखिन्छ ।

त्यसमध्ये महिला भन्दा पुरुषले बढी आत्महत्या गरेको तथ्याकमा देखिन्छ । डिप्रेसन, लागूपदार्थ तथा मादक पदार्थको प्रयोग सम्बन्धी समस्याहरू, परीक्षामा असफलता देखासिकी तथा प्रचारप्रसार, सामाजिक सञ्जालको गलत प्रयोग, अन्तरवैयक्तिक र पारिवारिक द्वन्द्व, प्रेम, अनैतिक सम्बन्ध, लिभिङ टुगेदर, वैवाहिक सम्बन्धमा देखिएका आपसी भावनात्मक असन्तुलन लगायतका कारणले आत्महत्याको दर बढिरहेको अनुसन्धानबाट देखिएको छ ।

मानिसहरूले निराशाबादी कुराहरू गर्ने र आफुलाई असहाय महसुस गर्ने, एक्कासी धेरै खुशी हुने अनि एक्कासी शान्त हुने, एक्लै एकान्त स्थानमा बस्न मन पराउने, साथीभाई, आफन्त, इष्टमित्रहरूलाई दुःखका कुरा सुनाउने आदी लक्षण देखाएमा त्यस्तो मानिसलाई परामर्श दिएर आत्महत्या गर्नबाट रोक्न सकिन्छ । यो बिषयमा अव सवैको ध्यान जानु जरुरी छ ।

बढ्दो आत्महत्याका घटना न्यूनीकरण गर्न आत्महत्या न्यूनीकरण सम्बन्धी चेतनामूलक अभियानको आवश्यकता छ । आत्महत्या न्यूनीकरणको प्रभावकारी माध्यम भनेको जनचेतना र मनोपरामर्श नै हो ।

अतः विद्यालय स्तरबाटै विद्यार्थीहरूमा मनोपरामर्श दिने लगायतका उत्साहबर्धक कार्यक्रम ल्याउन सकियो भने आत्महत्या रोकथाम हुन सक्छ । आत्महत्याको जोखिममा रहेका नागरिकहरू तथा आम नागरिकलाई लक्षित गरी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्नेतर्फ अव ढिलाई नगरौं ।