© 2026
काठमाडौँ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एउटै उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आचारसंहिता, २०८२ मा यस्तो व्यवस्था गरेसँगै यस नियमको उल्लंघन गरे कारबाही हुनेछ ।
स्वीकृत आचारसंहितामा भनिएको छ, “निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवारको स्थानमा आयोगले तोकेको अनुसार बढीमा दुई वटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन प्रयोग गर्न सकिन्छ ।
त्यस्ता सवारी साधन नचल्ने ठाउँमा भने बढीमा चार वटा घोडा प्रयोग गर्न पाइनेछ ।”
तर राजनीतिक दल, उम्मेदवार, पार्टीका भातृसंगठन र सम्बन्धित व्यक्तिले चुनावी प्रचारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने पनि उल्लेख छ ।
त्यस्तै, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारले प्रयोग गर्न वा अरूलाई प्रयोग गर्न दिन पनि नपाइने व्यवस्था गरिएको छ ।
आचारसंहिता, २०८२ अनुसार, “कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसार–पसार गर्न नहुने” प्रष्टसँग उल्लेख छ ।