जितपुर, १३ पुस।
यतिबेला पूर्व–पश्चिम राजमार्ग विस्तारको कार्यले तीव्रता पाएको छ। बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक खण्ड विस्तारको काम द्रुतगतिमा अघि बढेकाे हाे। पहिलो खण्ड बुटवल–गोरुसिंगे र दोस्रो खण्ड अन्तर्गत चन्द्रौटा सम्मको सडक विस्तारले यस क्षेत्रका बासिन्दा उत्साहित बनेका छन्।
बुटवल–गोरुसिंगे सडक खण्ड अन्तर्गत करिब ५० किलोमिटर क्षेत्रमा ठेकेदार कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छ। सोही क्रममा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका अन्तर्गत चारनम्बर जीतपुर चोक बजार क्षेत्रमा पनि सडक निर्माण कार्य अघि बढाइएको हाे। वाणगंगाको मुख्य व्यापारिक केन्द्र चारनम्बर बुद्धचोककाे दुवै तर्फ सडकमा पर्खाल निर्माण भइरहेको छ।
सोही योजनाअन्तर्गत हाल चारनम्बर क्षेत्रमा पैदलयात्रीका लागि ओभरपास निर्माण भइरहेको छ। ५० कि.मि. सडक खण्डमा १२ वटा अन्डरपास र ११ वटा ओभरपास (पैदलयात्रीका लागि) निर्माण हुने योजना रहेको छ।
तर, चारनम्बर चोकदेखि पश्चिमतर्फको निर्माण स्थलमा बिहानैदेखि अटो तथा विङ्गरहरू अव्यवस्थित रूपमा पार्किङ गरिँदा आवतजावतमा ठुलाे समस्या उत्पन्न भएको हाे। सवारी साधनहरू सडकमै पार्किङ गर्दा यात्रुहरूलाई असहज भएको छ भने स्थानीय व्यवसायीहरू समेत मर्कामा परेका छन्।
ठूलो संख्यामा अटो र विङ्गर पार्किङ हुँदा मिष्ठान पसल, नास्ता पसल, होटल तथा अन्य व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरूले संचारकर्मिलाइ बताएका छन्। व्यवसायीहरूका अनुसार पसल अगाडि नै ढाक्ने गरी सवारी साधन पार्किङ गरिँदा ग्राहकहरू पसलसम्म आउन सक्ने अवस्था छैन। पूर्व–पश्चिम आवतजावत गर्ने सवारी साधनलाई रोक्ने स्थानसमेत नहुँदा समस्या झनै जटिल बनेको छ।
निर्माण कार्यका कारण बाटो साँघुरो भएको अवस्थामा अव्यवस्थित पार्किङले व्यवसायीहरू दोहोरो मारमा परेको स्थानीयको गुनासो छ। यस समस्याको समाधानका लागि वाणगंगा नगरपालिका, उद्योग वाणिज्य संघ, व्यापार संघ तथा बजार समितिले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग रहेको छ ।