बुटवल एउटा गुञ्जायमान ठुलो सहर हो ।
यो भव्य सहर अनि तिनाउ नदीको किनारा मानव सभ्यताको साक्षीको रूपमा निरन्तर शीतल हावा प्रवाहले तराईको उखरमाउलो गर्मीलाई बिर्साउँदछ । तिनाउ नदी किनारामा नेपालको ऐतिहासिक महत्वका कयौँ सम्पदाहरू मध्य म यहाँ एउटा ऐतिहासिक, पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण स्थानको बारेमा समीक्षा गर्ने प्रयास गर्दै छु ।
मणिमुकुन्द सेन उद्यान (फूलबारी) इलाकामा एउटा धरोहर संरक्षणको पर्खाइमा रहेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनले निर्माण गराएको दरबारको अहिले भग्नावशेष मात्र बाँकी रहेको छ । यो भग्नावशेष नेपाल एकीकरण अघि र एकीकरण पछिको एउटा महत्त्वपूर्ण स्थल हो ।
खोजकर्ता/स्रष्टा समीक्षक पुष्कर अथक रेग्मीका अनुसार मुकुन्दसेन (द्वितीय) को पालामा बुटवलको तिनाउ खोला पारी उत्तर पश्चिमको फूलबारी क्षेत्रमा दरबार निर्माण गरी रङ्ग महल नामकरण गरे ।
नेपाल अङ्ग्रेज युद्धको समयमा समेत कर्णेल उजिरसिंह थापाले रङ्ग महल दरबार परिसरभित्र नेपाली सेनाको क्याम्प खडा गरी अङ्ग्रेजहरूलाई युद्धमा परास्त गरेका थिए । तसर्थ यो नेपालीहरू पुग्नै पर्ने ऐतिहासिक एवं महत्त्वपूर्ण स्थान मध्ये एक हो ।
सेन राजाहरूको दरबारहरूमध्ये दक्षिणी पाल्पा, बुटवल क्षेत्रको रङ्ग महल दरबार, शीतकालीन दरबार थियो भने गृष्मकालीन समयका लागि पाल्पा, प्रभास, नुवाकोट र श्री नगरमा दरबारहरू बनेका थिए । सेनकालीन दरबारहरूको खोजिनिधी गर्दा दरबार मात्रको नभई पाल्पा र बुटवलमा थुपैसेनकालीन सम्पदा र धरोहरहरू छरिएका पाइन्छन् ।
यद्यपि यी दुवै क्षेत्रमा उत्खनन सहित विशेष खोज अनुसन्धान हुन बाँकी नै छ । यस्तो अवस्थामा महत्त्वपूर्ण पुरातात्त्विक अन्वेषण सञ्चालन गर्नु पर्नेमा क्षेत्रीय चिडियाखानाको अवधारणाले यस स्थानमा ठुलो क्षति पुर्याउने र अध्ययन अनुसन्धान समेत प्रभावकारी ढङ्गले गर्न नसकिने निश्चित भएको छ ।
पाल्पा सेन वंशी राजा मणि मुकुन्द सेनको दरबारको अवशेष हालको अवस्था हेर्दा यसको संरक्षणको लागि गर्नुपर्ने न्यूनतम कार्यहरूमा समेत सरोकारवालाहरूको सक्रियता देखिएको छैन । दरबारको अवशेषलाई वरिपरि पेरिमिटर वाल र फलामे बारले घर्ने र खाली स्थानमा ढुङ्गा बिछ्याइएको छ । दरबारको उत्तर तर्फ अग्लो पर्खालमा कलात्मक खोपी, झ्यालको भागहरू देख्न सकिन्छ ।
पर्खालको माथिल्लो भाग र बिचको भागमा रुख, झाडी र बुट्यानहरू सप्रिएका छन् । हालको संरचनालाई कम क्षति वा क्षति विहीन तरिकाले झाँडी बुट्यान हटाउनु हामी सबैको पहिलो कर्तव्य हो । दरबारको जग इलाका र जग नजिक बिछ्याइएको ढुङ्गाहरूमा समेत हरियो घाँसले भरिएको छ ।
जगहरूमा थप क्षति हुन नदिन घाँस/बुट्यान उम्रन नदिने, जोखिम नभएको इलाकामा घाँस/बुट्यान हटाउने र कम्तीमा दरबारको पर्खालमा उम्रेका घाँस/बुट्यान हटाउने सम्बन्धमा पुरातत्त्व विज्ञहरूसँग सल्लाह गरी सरसफाइ र टेकोहरू राख्न वा पर्खाललाई पानी र घामबाट संरक्षण गर्न उचित भौतिक संरचना निर्माण सम्बन्धमा डिपीआर तयार गर्न ढिलो भइसक्यो ।
दरबारको उत्तरी भित्ता र केही भागहरू खण्डहरको रूपमा ठिङ्ग उभिएको छ यसलाई ढल्न नदिने सम्बन्धमा केही नतिजामुखी प्रयासहरू आवश्यक देखिन्छ ।
नेपालको ऐतिहासिक सम्पदा यसरी बेवारिसे अवस्थामा रहँदा समेत मणि मुकुन्द सेन उद्यान संरक्षण समिति र पुरातत्त्व विभागको समन्वयात्मक पहलले मात्र यो सेन दरबार जे जस्तो अवस्थामा छ त्यसलाई सोही अवस्थामा पछिल्लो पुस्ता सम्म सुरक्षित राख्न पहल गर्न अब मुख्य गरी स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले पहलकदमी लिनु पर्ने देखिन्छ ।
यस्तो गौरवमय ऐतिहासिक स्थल सम्बन्धमा स्थानीय विद्यालयहरूलाई कम्तीमा वर्षको १ पटक अनिवार्य फिल्ड भ्रमण गराउँदा विद्यार्थीहरूले नेपालको इतिहासलाई साक्षात्कार गर्ने अवसर पाउने देखिन्छ ।
साथै यस्ता कार्यक्रमहरूले पर्यटक प्रवर्द्धनमा समेत योगदान पुर्याउनेछ । यो उद्यानको मुख्य आकर्षण सेन दरबारको ऐतिहासिक पक्ष सम्बन्धमा जानकारी मूलक ठुलो बोर्ड राख्नु पर्नेमा त्यस्तो बोर्ड पनि राखिएको देखिएन ।