© २०२३
नवलपरासी, १२ पुस ।
अघिल्लो कार्यकालमा जिल्ला समन्वय समिति (जिसस)का उपप्रमुख भई राजनैतिक कार्यमा सक्रिय पूर्व उपप्रमुख अब्दुल रहमान चुरिहार अहिले आफ्नै उद्यम व्यवसायमा व्यस्त छन् ।
सरावल–७ बुडन्वापुर धनेवाखोला नजिकै तेल मिलको स्थापना गरि तेल पेल्नमा उनी व्यस्त देखिन्छ । राजनीति कार्यबाट निष्क्रिय बन्दै चुरिहार अहिले घरायसी व्यवहारका लागि आफू व्यवसायलाई नै प्राथमिकतामा राखेको बताउँदै आफ्नै कार्यमा व्यस्त रहेको सुनाए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरावल गाउँपालिकामा २०७४ सालको स्थानीय चुनावमा वडा सदस्यमा निर्वाचित भई चुरिहार नेपाली काँग्रेससँग तालमेल गरि जिससको उपप्रमुख बनेका थिए ।
पछि सो पार्टीका अध्यक्ष विजय कुमार गच्छेदार नै नेपाली काँग्रेसमा पार्टीलाई एकीकरण गरिदिए पनि चुरिहार पनि काँग्रेसमै प्रवेश गरेका थिए । तर काँग्रेसमा प्रवेश गरे पनि काँग्रेसमै रहेका पुराना नेता कार्यकर्ताहरू बिच घुलमिल भएर काम गर्न केही असहज नै रहेको उनको अनुभव छ ।
चुरिहार मात्रै नभई काँग्रेसमा मधेसी दलको पृष्ठभूमिबाट प्रवेश गरेका धेरै नेता कार्यकर्ताको उही हाल छ । हुन त पुनः उपप्रमुख कै जिम्मेवारी ताकेर वडा सदस्यमा २०६९ को स्थानीय चुनाव लडे र जिते पनि तर पछिल्लो कार्यकालमा उनी उम्मेदवार नै बन्न पाएनन् ।
जिल्ला तहमा नेतृत्व गर्दै एउटा छाप बनाएका चुरिहार अहिले राजनीतिकमा नयाँ शक्तिले माग गरेका नेतृत्व पुस्तान्तरणकै पक्षलाई ठिक मानेको बताउँछन् । काँग्रेसमा आन्तरिक रूपमा पुस्तान्तरणको समस्या कायम छ । त्यसमा पनि अन्य दलहरू एकीकरण गरेर वा समाहित गरेर ठुलो पार्टीमा प्रवेश गर्दा त हराउने अवस्था नै हुने गरेको उनको अनुभव छ ।
पञ्चायत काल देखि प्रजातन्त्र र गणतन्त्रसम्म आउँदा पनि उही अनुहारले नेतृत्वमा बस्ने नयाँले अवसर नपाउने समस्याले राजनीति उन्मुख हुन चाहना भएका नागरिकलाई पनि समस्या नै छ । त्यसमा पनि केन्द्रमा एकीकरण हुँदा स्थानीयमा त कार्यकर्ताको गणना नै हुँदैन ।
अर्को सानो दलमा लागेर राजनीति गर्दा ति दल कहिलेसम्म अस्तित्वमा रहने हो ? पछि उही एकीकरण हुनुपर्ने र पुनः उही अवस्था दोहारिने अवस्था आउँछ । यी यावत समस्या देखेर पेसा व्यवसाय गर्दै सामाजिक कार्य रमाइलो भएको उनले सुनाए ।
‘अहिले तेल मिल सञ्चालन गर्दै आएको छु,’ उनले भने, घरपरिवारले समेत यो पेसालाई सघाउँदै आएका छन् । पति पत्नी सहित घरेलु उद्योगमा रमाउँदै आएका उपप्रमुख चुरिहारले यो पेसाबाट आफू सन्तुष्ट नै रहेको सुनाए ।
तोरी किन्ने र गुणस्तरीय तेल बेच्ने कार्यलाई पेसा बनाएको छु, उनले भने, यहाँबाट कुनै मिसावट हुँदैन, शुद्ध तोरीको तेल किन्नका लागि पहिला देखि नै अर्डर आएको हुन्छ, अर्डर अनुसार नै तोरी किन्ने पेल्ने र बेच्ने कार्यमा दिनचर्या चलिरहेको छ ।
तेलसँगै गहुँबाट पिठो बनाउने मेसिन, चामल बनाउने र मसला पिस्ने मेसिन पनि राखिएको छ । तर बढी प्राथमिकता तेललाई नै राखिएको उनले सुनाए । पेसासँगै कोही कोही नेता कार्यकर्ता यहीँ नै आउँछन्, गफगाफ भई नै रहन्छ । तर प्राथमिकता भने आफ्नो व्यवसाय नै हो ।
राजनीति सेवा गर्ने पेसा हो, तर खर्चिलो बन्दै गएको छ । पहिला जनताले नेतालाई सम्मानपूर्वक आफ्नै घरमा बोलाएर श्रद्धापूर्वक खाना खुवाउने, बसाल्ने, सुख दुःखका कुरा गर्ने गर्थे । अहिले नेता आएकी नजिकैको चिया खाजा पसलमा बसाल्ने एउटा एउटा गरि केही ब्यक्ति पनि जुटिहाल्छन् । चिया खाजा खादै गफसफ गरेर आ–आफ्ना बाटो लाग्छन् ।
अन्तिममा पसलको बिलको भार तिनै नेता भन्नेले बेहोर्न पर्ने बाध्यता र संस्कृति बन्दै गएको छ । यसले राजनीतिमा नकारात्मक संस्कृति बन्दै गएको पूर्व उपप्रमुख चुरिहार बताउँछन् । बिल तिर्नका लागि ति नेताले कहाँबाट श्रोत ल्याउने ? उनले प्रश्न गरे ।
कहीँबाट उठायो भन्ने अनैतिक कार्य (भ्रष्टाचार) नै गर्नु पर्छ, उनले थपे, होइन भने राजनीति नै छाड्नु पर्छ । जुन परिस्थितिको सिकार आफू पनि भएको बताउँछन् । तर अहिले स–सानो पेसा गरियो भन्ने त्यसैले आफ्ना घरपरिवार खर्च पनि जुटाउन सकिएको छ ।
केही इष्टमित्र कहिले काहीँ बाहिरबाट आउने नेतालाई सत्कार गर्नलाई पुगेको छ । यसले गर्दा राजनीतिसँगै एक आयमूलक पेसा गर्न पनि आवश्यकता रहेको उनले औँल्याए । राजनीतिलाई नै पेसा बनाउनाले अहिलेको चलनले नेतालाई भ्रष्टाचार उन्मुख नै गराउँछ ।
त्यसमा पनि निर्वाचनको बेला आयो भन्ने कर्पोरेटमा लाग्ने केही उच्च व्यापारीहरूले विना खर्च चुनाव कसरी हुन्छ ? बहस नै चलाई हाल्छन् ।
त्यो अवस्था पनि सृजना गरि दिन्छन् । जनता र कार्यकर्ताको मनोभाव पनि नेताबाट खर्च गराउनु पर्छ, भनी भई हाल्छ ।
त्यसका लागि वर्षौँ समय खर्चेर पार्टी सङ्गठन बनाउँदै दिन बिताएकाहरूको बोल्ती नै बन्द भई हाल्छ । त्यसको फाइदा उठाउने कार्पोरेट बिजनेस गर्ने ब्यक्ति हाबी हुन्छन् । पदमा पनि पुग्छन् । भ्रष्टाचारमुखी नीति बनाउन लगाउँछन् । भ्रष्टाचारमा पनि लिप्त हुन्छन् । जसको परिणाम अहिलेको अवस्थामा स्वयं हेर्न सक्ने उनले औँल्याएका थिए ।
मुलुकलाई सुशासन तर्फ डो¥याउने हो भन्ने ठुलो राजनीतिक दलहरूले कार्पोरेटहरूलाई दलबाट निष्कासन गर्नै पर्छ ।
कार्पोरेट र व्यवसायीको काम व्यवसाय गर्ने हो, उनी भन्छन्, राजनीतिमा समाजमा भिजेका, जनता माझ सुख दुःखमा साथ काम गर्नेलाई राजनीतिमा स्थान दिइयो भन्ने नीति निर्माण पनि जनमुखी बन्छ । मुलुकमा सुशासन, समृद्धि ल्याउँछ ।
त्यसले समाजमा अमन चयन र दिगो शान्तिलाई व्यवस्थापन गर्छ । होइन भने भ्रष्टाचार हटाउने सुशासन ल्याउने नारामा मात्रै सीमित हुने उनको भनाई रहेको थियो ।