© २०२३
नवलपरासी, १२ पुस ।
जिल्लाका हाटबजार व्यवसायीहरू जिल्ला स्तरीय भेला गर्ने योजनाको तयारी जुटेका छन् ।
जिल्ला भित्र रहेका विभिन्न हाटबजारहरूमा सरकारी बेवास्ताले संस्थागत तथा व्यक्तिगत दुवै तिरबाट अतिक्रमण हुन थालेपछि हाटबजारसँग सम्बन्धित व्यवसायी तथा कृषकहरू बजार संरक्षणमा अग्रसरता देखाएका हुन् ।
सरकारद्वारा उपेक्षामा परेका हाटबजारलाई आर्थिक क्षेत्रको पहिचान गराउनका लागि जिल्ला स्तरीय भेलाको आवश्यकता महसुस गरि भेला गर्ने गृहकार्य भई रहेको हाटबजार जिल्ला समन्वय समितिका संयोजक राधेश्याम अग्रहरीले बताए ।
समाजवादमा आधारित,कृषक व्यवसायी तथा उपभोक्ताको प्रत्यक्ष सहभागिता रहेको स्थान हाटबजार हो, उनले भने, अहिले पुजिँवादी व्यवस्थाको भाटघटेनी जस्ता सपिगँमलहरू बन्ने गरेको छ, त्यसमा बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्दै आएका छन् ।
जसमा मूल्यमा कुनै प्रतिस्पर्धा पनि हुदैन्, एक मुल्य हुन्छ, तर हाटबजार हाम्रो परम्परागत सपिगँमल जस्तै हो, खुल्ला पारदर्शी, प्रतिस्पर्धा हुन्छ । किसानको प्रत्यक्ष पहुँच हुन्छ, उपभोक्ता र उत्पादकको प्रत्यक्ष सहभागिता हुन्छ । यसमा सरकारको करोडौँ लगानी पनि हुँदै आएको छ ।
लाखौँको प्रत्यक्ष र परोक्ष रोजगारीले जोडेको छ । तर सरकारी उपेक्षामा परेको देखिएको छ । तिन तहको सरकारले आफ्नो अनुकूल बजारमा हस्तक्षेप समेत गर्ने कार्य हुँदै आएको छ । कहीँ कतैबाट अतिक्रमण र हस्तक्षेप हुँदा सुनुवाइ पनि हुँदैन, त्यो भएर सङ्गठित हुन आवश्यकता महसुस गर्दै उनले भेलाको तयारी भई रहेको सुनाए ।
सकेसम्म यहीँ आर्थिक वर्ष २०८२/०८३ भित्र जिल्ला भेला गराउने तयारीमा जुटेका छौँ, उनले भने । हाटबजार व्यवसायीले बजारको डिपिआर रामग्राम नगरपालिकासँग दुई महिना देखी माग गर्दा समेत नपाएको गुनासो गर्दै भने, दुई साता पहिला आफूले डिपिआरका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई निवेदन दिँदै आग्रह गरेको छु । तर हालसम्म पाइएको छैन ।
जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही व्यक्तिले अतिक्रमण गरि रहेको भन्दै व्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गर्दा नपाउने र पछि जिल्ला समन्वय समितिलाई गुहारे पनि नगरपालिकाले अटेरी गर्दा मुख्यमन्त्री समक्ष निवेदन दिएका हुन् ।
हाट बजार व्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाइन सहितको डिपिआर कात्तिक १५ गते नै माग गरेका थिए । तत्पश्चात् उनलाई डिपिआरको प्रतिलिपि उपलब्ध नभएपछि उनी मङ्सिर १ गते जिससमा निवेदन दर्ता गराएका थिए । जिससले पत्राचार गर्दा पनि नगरपालिकाले अटेरी गरे पछि उनी मुख्यमन्त्रको कार्यालयमा जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएका थिए ।
जिल्लामा अहिले धेरै जसो हाटबजारको समस्या उस्तै रहेको सुनाए । सुनवल, बर्दघाटमा उस्तै समस्या छ, उनले भने, पहिला सार्वजनिक जग्गा, नदी उकास, बन जङ्गल नजिकै अस्थायी रूपमा हाटबजार लगाउने गर्छन्, पछि त्यहीका केही व्यक्ति संस्थाहरू स्थानीय सरकारसँग मिलेर हाटबजार अन्यत्र सार्ने र ती जग्गा कब्जा गर्ने नियति राख्दै आएका छन् । तर अब हाटबजार क्षेत्रको सिमाङ्कन, रेखाङ्कन गरि स्थायी पहिचान बनाउन आवश्यक देखिएको छ ।
त्यसैका लागि जिल्ला भित्र रहेका हाटबजारहरूका प्रतिनिधिहरूलाई जिल्ला स्तरीय भेला गरि एउटा घोषणापत्र जारी गर्ने र तिनै तहका सरकार समक्ष हाटबजारको दिगो व्यवस्थापनका लागि पहल गर्ने गरि भेलाको तयारीमा आफू लागेको सुनाए ।
जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा साप्ताहिक हाटबजारको सङ्ख्या कुल ३२ वटा रहेको छ । जसमा रामग्राम नगरपालिकामा परासी हाटबजार, पटखौली हाटबजार, धर्मपुर हाटबजार, कुनुरु हाटबजार गरि ५ वटा हाटबजारहरू रहेका छन् ।
त्यसै गरि सुनवल नगरपालिका मित्र सोमनाथ हाटबजार, अस्नैया हाटबजार, बैरागनाथ हाटबजार, रामपुर चौराहा हाटबजार,भुमही हाटबजार गरि ५ वटा हाट बजार रहेको छ ।
यसै गरि बर्दघाट नगरपालिका क्षेत्र भित्र भोटेक्याम्पस हाटबजार, बाढीपीडित हाटबजार, बर्दघाट १५ हाटबजार, पालडाडा हाटबजार, कुकुरमारा हाटबजार, चिसापानी हाटबजार, बर्दघाट हाटबजार, भटवलिया हाटबजार,माकर हाटबजार, भुतहा हाटबजार गरि १० वटा हाटबजार रहेका छन् ।
प्रतापपुर गाउँपालिकामा पनि सिसहनिया हाटबजार, सेमरी हाटबजार, सुर्यपुरा हाटबजार, पिपरपाती हाटबजार,बेलाटारी हाटबजार, गरि ५ वटा हाटबजार रहेका छन् । पाल्हीनन्दन गाउँपालिकामा एउटा मात्र बैरवा हाटबजार मात्र रहेको छ, भने सुस्ता गाउँपालिकामा बरुवा हाटबजार, रूपौलिया हाटबजार,कुडिया हाटबजार, सुस्ता हाटबजार, फेनहरा हाटबजार, र नर्सही हाटबजार गरि ६ वटा रहेका छन् ।