© २०२३
गुल्मी, १२ पुस ।
धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको रूपमा परिचित गुल्मी जिल्ला पछिल्लो समयमा चराचुरुङ्गीको महत्त्वपूर्ण गन्तव्य र वासस्थानको रूपमा चिनिन थालेको छ ।
हालै सम्पन्न पछिल्लो अध्ययन र अभिलेखीकरणपछि जिल्लामा तिस नयाँ प्रजातिका चराहरू थपिएसँगै गुल्मीमा पाइने चराहरूको कुल सङ्ख्या ३ सय ५५ प्रजाति पुगेको छ ।
नेपालमा पाइने नौ सय तीन प्रजातिका चराहरू मध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका करिब ४० प्रतिशत चराहरू फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जानकारी दिएको छ ।
पछिल्लो समयमा गुल्मीमा नयाँ थप तिस प्रजातिका चराहरू थपिएसँगै जिल्लामा चराहरूको सङ्ख्या ३ सय ५५ प्रजाति पुगेको हो । नेपाल पक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनको क्रममा थप तिस चराका प्रजातिहरू फेला परेका हुन् ।
जिल्लाको रेसुङ्गा, मदाने र सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणको क्रममा उक्त चरहरू फेला परेको परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी गराए । सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पछिल्लो पटक नयाँ २५ प्रजातीका चराहरू फेला परेको परियोजना अधिकृत भट्टराईले बताए ।
यस अघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुई पटक चरा सर्वेक्षण गरिएको भए पनि यो पटकको सर्वेक्षणमा जिल्लाको थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा समेत चरा सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणको क्रममा उक्त ठुलो सङ्ख्यामा नयाँ चराका प्रजातिहरू फेला परेको सङ्घले जनाएको छ । नयाँ फेला परेका चराहरूमा तिलहरी, मोटो ठुँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपंख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरा लगायत रहेको परियोजना अधिकृत भट्टराईले जानकारी दिएका छन् ।
गुल्मीको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती आजभोलि दुर्लभ चराहरूको मुख्य वासस्थान बन्दै जान थालेको छ । विश्वमा पाइने दुर्लभ चराहरू मध्य गुल्मीको छ प्रजातिका चराहरू पाईन्छन ।
दुर्लभ प्रजातिका चराहरू मध्य रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्द, सेतो गिद्द, सुन गिद्द र गोमायो माहाचिल रहेका छन् । पाइने चरा काँडे भ्याकुर जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा रेकर्ड गरिएको छ ।
नेपाल पन्क्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेको पक्षी सर्वेक्षण अनुसार रेसुङ्गा वन क्षेत्रमा २ सय ७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २ सय ८९ प्रजाति र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा एक सय ९६ प्रजातिका चराहरू फेला परेका हुन ।
जिल्लाका तीन वटै वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षित क्षेत्रमा गरी ३ सय ५५ प्रजातिका चराहरूको तथ्याङ्क रेकर्ड गरिएको छ । यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्या अनुसार हाल ४० प्रतिशतको हाराहारीमा रहेको नेपाल पन्क्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ ।
विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा समेत पाइने भएको कारण यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्नु पर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाहरूले जोड दिँदै आएका छन् ।
नेपाल पक्षी संरक्षण सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम मार्फत जिल्लामा दुर्लभ चराहरूको खोजी गर्दै तिनीहरूको संरक्षणको लागि जनचेतनामूलक कामहरू गर्दै आइरहेको छ ।
सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीय वासीहरूलाई वन जङ्गलको संरक्षण र संवर्द्धनसँगै जीविकोपार्जनमा टेवा पुराउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
गुल्मी जिल्लामा धार्मिक पर्यटन सँगैसँगै चरा पर्यापर्यटनको लागि प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । नगर प्रमुख पन्थीले यसबाट जिल्लामा पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत सहयोग पुग्नुका साथै स्थानीयहरूको जीविकोपार्जनमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
दुर्लभ प्रजातिका चरा संरक्षणका लागि पछिल्लो समयमा मुख्य चुनौतीको रूपमा वासस्थानको विनास, पानीको अभाव, वन–डढेलो, अवैध सिकार, जनचेतनाको अभाव जस्ता कारणहरू रहेको नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरि चरा संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ । पछिल्लो समयमा गुल्मीलाई चराचुरुङ्गीको विविधताको जिल्लाको रूपमा समेत चिनिँदै जान थालिएको छ ।
जिल्लामा चराचुरुङ्गीको संरक्षणका लागि वनजंगलको संरक्षण, अवैध सिकार नियन्त्रण र वातावरणीय चेतना अभिवृद्धि आवश्यक रहेको बताइएको छ । समयमै यस्ता कुराहरूमा ध्यान पुराउन सकेमा गुल्मी जिल्ला नेपालमै चराचुरुङ्गीको प्रमुख अध्ययन केन्द्रका रूपमा स्थापित हुन सक्ने सरोकारवालाहरूले बताएका छन् ।