© २०२३
बुटवल, ११ पुस ।
शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा शुक्रवार तिलोत्तमा नगरपालिकास्थित शंकरनगरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घघाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले गरेका हुन् ।
उद्घघाटन मन्तव्यमा पूर्व मुख्यमन्त्री गिरीले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनंले सामुदायिक वन व्यवस्थापनलाई थप पारदर्शी, उत्तरदायी र दिगो बनाउन उपभोक्ता समूहको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै वन संरक्षणलाई आम नागरिकको साझा दायित्वका रूपमा लिन आग्रह गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शंकरनगर सामुदायिक वन नगरको पर्यावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण सम्पत्ति भएको बताए । नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै हरियाली प्रवद्र्धन, जलाधार संरक्षण र वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाए ।
त्यस्तै, नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सामुदायिक वनले महिला सशक्तिकरण र गरिवी न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् ।
संस्थाका अध्यक्ष रविन्द्र बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षभरि वन संरक्षण, वन विकास तथा सम्वद्र्धन, गरिवी न्यूनीकरण, महिला सशक्तिकरण तथा उद्यम विकास, जैविक विविधता संरक्षण र जलाधार संरक्षणका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण बिडारीले शंकरनगर सामुदायीक वन नेपालकै नमूना भै यसअघि नै नेपाल सरकारले प्रदान गर्ने विशिष्टिकृत पुरस्कार गणेशमान पुरस्कारवाट सम्मानित भएको भन्दै यसको चर्चा गर्नु भन्दा पनि यसले गरेका कामलाई अन्य वन समुहले सिको गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका नगर संयोजक बेलप्रसाद शर्मा, संस्थाका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, मध्यवर्ति महिला समुहकी अध्यक्ष धनिकला पाण्डे, वनका पार्षद रुक्माङ्गत पाण्डे, चन्द्रकला कंडेल लगायतले मन्तव्य राख्दै सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए े। सोही अवसरमा विभिन्न विद्यालयका विद्यार्थीलाई सम्मान गरिएको थियो ।