© २०२३
बुटवल, ११ पुस ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा शुक्रबार प्रहरी जवान आधारभूत तालिम ८–११३ औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टको उपस्थितिमा २१८ जना प्रहरी जवान दीक्षित भएका हुन् ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक भट्टले शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा निर्मम तथा निष्पक्ष भएर लाग्न निर्देशन दिए । पछिल्लो समय अपराधका शैलीहरू परिवर्तन हुँदै गएकाले अनुसन्धान प्रक्रिया थप जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले समयअनुसार प्रहरी कार्यशैली परिमार्जन गरी कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रहरी प्रमुख भट्टले दीक्षित जवानहरूलाई कार्य सफलताको शुभकामना दिँदै अनुशासित, मर्यादित र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठोरले तालिम अवधिमा आर्जन गरेका सीप, ज्ञान र अनुशासनलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न प्रहरी जवानहरूलाई सुझाव दिए ।

दीक्षान्त समारोहका अवसरमा तालिममा सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी जवानहरूलाई सम्मान गरिएको थियो। सर्वोउत्कृष्ट प्रहरी जवान भुपेन्द्र गाहा, दोस्रो स्थान हासिल गर्ने रविन्स केसी र तेस्रो स्थान प्राप्त गर्ने रनबहादुर परियारलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो ।