दाङ, ११ पुस ।
फुलेर सेताम्मे भएको कपाल , चाउरी परेको अनुहार , हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तरार्द्धतर्फ उन्मुख । घोराही उपमहानगरपालिका – ६ का ज्येष्ठ नागरिकको अहिलेको दैनिकी बनेको छ बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःख सुखका कुरा गर्ने र रमाउने । उनीहरू त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्छन् र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । कोहीले मादल, खैँजडी आदि बजाउने, केहीले गाउने र अरू बाजाका तालमा नाच्ने रमाउने गर्छन् । यसरी आफ्ना पीडा भुलाउने चौतारो बनेको छ, नागरिक दिवासेवा केन्द्र ।
दाङमा ज्येष्ठ नागरिकका लागि दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरूको दैनिकी पनि फेरिएको छ । घोराही उपमहानगरपालिका-६ जजरागाउँका निमादेवी अधिकारी ८० वर्षकि भइन । उनी बिहान ११ बजे सोही वडाको गुरुवागाउँमा अवस्थित ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा दैनिक आउने गर्छिन । आफ्ना साथीभाइ, दौँतरीसँगको भेटघाट र भलाकुसारीले मन भुल्ने गरेको उनी बताउछिन् । दिवासेवा केन्द्रमा आफ्नै उमेरका आफन्त, साथीसँग भलाकुसारी, भजनकीर्तन गर्ने, नाच्ने गाउने गर्दा उनलाई दिन कटेको पत्तो हुँदैन । “रामायण, महाभारतका श्लोक सुन्दा मनमा आनन्द आउँछ,” उनले भनिन् ।
“कोही तालीले साथ दिन्छौँ कोही गलाले साथ दिन्छौँ, अनि नाच्न जान्ने साथीहरू पनि नाचेरै रमाउनुहुन्छ । यो त हाम्रा लागि समय बिताउने ठाउँ मात्र होइन कि बिसाउने चौतारी पनि भएको छ । केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ ।” मलाई पढ्न आउदैन पढेको चाहिँ खुब चासो दिएर सुन्ने गर्छु उनले भनिन् ।
घोराही–६ गुरुवागाउँका निमादेवी शर्माले ८७ वसन्त पार गरिन । एक्लो जीवन घरमा बसेर दिन बिताउन उनलाई पट्यार लागेको थियो । वि.सं.२०७८ मा घर नजिकै दिवासेवा केन्द्र स्थापना भएपछि अहिले भने उनको दिनचर्या फेरिएको छ । आफ्ना कुरा सुनाउने अनि साथीका कुरा सुन्ने, भजनकीर्तन तथा नाचगान गरेर दिन बिताउने गर्न सजिलो भएको छ । “आफूसँगका साथीसँग भेट हुन्छ । घरमै बस्दा अत्यास लाग्थ्यो यहाँ साथीभाइ र आफन्तीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ”, उनले भनिन् ।
आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने र नाचगान भजनकीर्तन गरेर दिन बिताउने गर्न सजिलो भएको उनको भनाइ छ । “आफूसँगका साथीसँग भेट हुन्छ । दिवासेवा केन्द्र दुःख बिसाउने साझा चौतारी नै बनेको छ ।” सेवा केन्द्र आउन थालेपछि ऊर्जा थपिएको उनको अनुभव छ । घरमै बसिरहँदा शरीर कुजिएजस्तो भएको र यहाँ आउन थालेपछि हलुङ्गो भएको छ ।
दैनिक १५ देखि १८ जना ज्येष्ठ नागरिक यहाँ आउने गर्नुहुन्छ । यहाँ आउन कसैलाई पनि रोकतोक छैन । जम्मा हुनासाथ उहाँहरूले आरती गर्नुहुन्छ र त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष पदम अधिकारीले बताए ।
साठी वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्ने वडा नं ६ का वडाध्यक्ष विष्णुराम आचार्यले बताए ।
६ बर्ष अघिदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, खैँजडी, मुजुरा र हार्मोनियम जस्ता वाद्यवादनका सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ ।आचार्यले भने , “केन्द्रमा विभिन्न दाताबाट विभिन्न किसिमका धार्मिक तथा आध्यात्मिक ज्ञानयुक्त पुस्तक राख्ने सामग्री पनि व्यवस्था गरिएको छ । यस केन्द्रमा धार्मिक ग्रन्थको पाठ र भजन कार्यक्रम समय तालिकाअनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बित्ने गरेको छ ।
ज्येष्ठ नागरिक, महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले घोराही उपमहानगरपालिकाका १९ वटै वटा वडामा २७ वटा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताइन । कुनै वडामा दुईवटा छन् । नगरले बजाउने बाजा, बस्ने म्याट, कुर्सी लगायतका सामग्री सहयोग गरेको छ । दैनिक खाजाको लागि केही रकम पनि सहयोग गरेको उनले बताइन् । दिउँसो आउने ज्येष्ठ नागरिकलाई तातोपानी र खाजा खाने ब्यबस्था पालिकाले गरेको उनले बताइन् ।
अहिले मानिसहरू व्यस्त बन्दै गएका छन् । एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले वडा वडामा रहेका ज्येष्ठ नागरिकलाई दिवासेवा केन्द्रमा आउने वातावरण मिलाएको उनले बताइन् ।
त्यसैले यसरी स्थापना गरिएका नागरिक सेवा केन्द्रहरू नागरिकका दिन काट्ने र रमाउने माध्यम बन्ने गरेका छन् । यी केन्द्रहरू कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन् । विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएकाहरूका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ ।