© 2026
बुटवल, १० पुस ।
महिला समानताका लागि संचार अभियानद्वारा संचालित सामुदायिक रेडियो मुक्ति ९५.५ को १८ औ स्थापना दिवस तथा १६ बार्षिक साधारण सभा बुधबार शंकरनगर वनवाटिका तिलोत्तमामा सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले संचारमाध्यमले सत्य तथ्य समाचार सम्पे्रषण गर्नुपर्ने बताएकी छन् ।
रेडियो मुक्तिले महिलाहरुका सफलताका कुरासंगै आर्थिक उपार्जनका लागि सहयोग पुग्ने खालका सामग्री उत्पादन र प्रसारण गर्दै आएको बताउँदै उपप्रमुख अर्यालले प्रविधिको प्रयोगसंगै अगाडि बढ्नुपर्ने समय आएको बताइन्े । रेडियो मुक्तिका पूर्व अध्यक्ष समेत रहेकी अर्यालले नागरिकलाई सूचनाको पहुँचमा पुर्याउन रेडियोले अझै धेरै काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा रेडियोका निबर्तमान अध्यक्ष गुमादेवी आचार्यले सामुदायिक रेडियो मुक्तिलाई नमुना रेडियो बनाउन सबैको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले महिलाहरुलाई कमजोर सम्झने मानसिकतामा परिवर्तन हुँदै गएको बताउँदै अब प्रतिस्पर्धात्मक हुनुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष दिपु पोखरेलले संस्थाको आगामी कार्ययोजना सहित संस्थाको सुदृढीकरण, व्यवस्थापन सहितको प्रतिवेदन पेश गरेकी थिइन् । कोभिड १९, नवयुवा आन्दोलन र राजनीतिक अस्थिरताका कारणले पनि सञ्चार माध्यमहरु आर्थिक संकटमा परिरहेको बेलामा रेडियो मुक्ति निरन्तर नागरिकलाई सूचनाको पहुचमा पुर्याउन सफल भएको उनले बताइन् ।
पोखरेलले अहिलेको डिजिटल प्रविधिलाई अंगाल्दै अगाडि बढ्नुको विकल्प नभएकोले रेडियोले बिभिन्न योजना बनाएको बताइन् । उनले सामुदायिक रेडियोमा आफ्नो लगानी गरेर रेडियोका सदस्यहरुले सामाजिक कार्य गरेको प्रति कृतज्ञता व्यक्त गरिन् ।
यस्तै रेडियोका कोषाध्यक्ष राधिका न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । रेडियोले महिलाका मुद्धालाई प्राथमिकता दिंदै समाजका अन्य क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, युवा, वाल, अपाङ्गता, दलित, जनजाति, सिमान्तकृत, राजनीति र समसामयिक मुद्धालाई सवै वर्ग र क्षेत्रमा पुग्ने गरी आवाज उठाउँदै आएको न्यौपानेले जानकारी दिइन् ।
कार्यक्रममा उपाध्यक्ष कबिता अर्याल, स्टेशन म्यानेजर कल्पना तिवारी, संस्थापक सदस्य तथा जनप्रतिनिधिद्वय सीता खनाल, सबिता बिक, विधान संशोधन समिति संयोजक सुमित्रा शर्मा, सल्लाहकार संगिता अर्याल, सदस्यहरु माया क्षेत्री, पार्वती ज्ञवाली, पुष्पा आचार्य लगायतले बोल्दै रेडियो सञ्चारको सशक्त माध्यम भएकाले समयअनुसार परिमार्जन गर्दै जानुपर्ने सुझाव दिएका थिए । रेडियो मुक्तिले सदस्यहरुका साथमा आत्मीयता र एकआपसमा रमाइलोका लागि साधारण सभा सहित बनभोज कार्यक्रम आयोजना गरेको हो ।
साधारण सभामा कार्यक्रम संयोजक साबित्रा घिमिरे, सचिव सबिता निरौलाले पनि आ–आफ्नो धारणा राखेका थिए
सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार भन्ने मूल नाराका साथ २०६५ पुस ९ गतेदेखि रेडियोले आफ्नो औपचारिक प्रसारण आरम्भ गरेको थियो ।
रेडियो मुक्तिबाट समाचार, सूचना, सचेतनामूलक कार्यक्रम र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हँुदै आएको छ । बुटवल ४ सानोगाउँमा रहेको रेडियो दैनिक १७ घण्टा प्रसारण हुदै आएको छ ।
लैङ्गिक हिंसा न्युनीकरण, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, मानव बिकास लगायतका बिषयमा कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको रेडियोमा हाल १५६ जना संस्थापक सदस्य रहेका छन् । रेडियो मुक्ति महिलाहरुद्वारा स्थापित र संञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो हो ।