© २०२३
रोल्पा, १० पुस ।
रोल्पाका तीन स्थानीय तहहरू निजी विद्यालय विहीन रहेका छन् । जिल्लाका त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र लुंग्री गाउँपालिका निजी विद्यालय विहीन रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रोल्पाका अनुसार हाल जिल्लाका तीन स्थानीय तह निजी विद्यालय विहीन रहेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिकाले निजी विद्यालयहरूलाई सरकारी विद्यालयमा समायोजन गरेको थियो । नर्सरी देखि कक्षा १० सम्म पढाई भइरहेको शिखर जलजला एकेडेमी बोर्डिङ स्कुल, त्रिवेणी– ५ जुँगारलाई जनजागृति मावि त्रिवेणीमा समायोजन गरिएको छ ।
अहिले सो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ । त्यस्तै निजी स्तरमा सञ्चालन भएको मदरल्याण्ड एजुकेयर एकेडेमी प्रालिलाई शुक्र मावि झुम्लुङमा, रोल्पा सनराइज इङ्लिस बोर्डिङ स्कुललाई विरेन्द्र मावि गाङमा र बुढागाउँ मदरल्याड एकेडेमी प्रालिलाई सरस्वती मावि लिङदुङमा समायोजन गरिएको थियो ।
त्रिवेणी गाउँपालिकामा सञ्चालित सबै निजी विद्यालयहरू सामुदायिक विद्यालयमा समायोजन भएपछि अहिले गाउँपालिका निजी विद्यालयविहीन भएको छ ।
त्रिवेणी गाउँपालिकाले समायोजन हुने विद्यालयमध्ये मावि तहका लागि रु. ५ लाख, निमावि तहका लागि रु. ३ लाख र प्रावि तहका लागि रु. २ लाख बजेट उपलब्ध गराएको थियो ।
समायोजन भएका विद्यालयलाई प्राथमिकता दिई अन्य सेवा–सुविधा उपलब्ध गराउने नीति रहेको गाउँपालिकाको शिक्षा शाखाको भनाई छ । निजी विद्यालयहरू सरकारीमा समायोजन भएसँगै पढाइको गुणस्तरमा पनि सुधार भएको अभिभावकहरू बताउँछन् ।
समायोजनसँगै निजीका शिक्षकहरू सरकारी विद्यालयमा आएका छन् । “बोर्डिङ स्कुलका सरहरूले पढाउन थालेपछि अधिकांश विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाई हुन थालेको छ,” अभिभावक ऋषिकेश डाँगीले भने ।
उनका अनुसार शिक्षाको गुणस्तर निजीभन्दा राम्रो बनाउने सर्तमा मात्रै विद्यालय समायोजनको सहमति दिइएको हो । “निजीमा पढ्दै गरेका मेरा छोराछोरी सरकारीमा भर्ना गर्दा पढाई कस्तो होला भन्ने लागेको थियो तर, अहिले ढुक्क भएका छौँ,” डाँगीले सुनाए ।
जिल्लाको रुन्टीगढी गाउँपालिकामा यस अघि सञ्चालनमा रहेको निजी विद्यालय हाल बन्द अवस्थामा रहेपछि सो गाउँपालिका पनि निजी विद्यालय विहीन भएको हो । लुंग्री गाउँपालिकामा भने हाल सम्म निजी विद्यालय स्थापना भएको छैन ।
जिल्लाका दश स्थानीय तह मध्ये अन्य सात स्थानीय तहमा भने निजी विद्यालय रहेका छन् । जिल्लामा कक्षा १–५ चलेका ११, कक्षा १–८ चलेका ५ र कक्षा १–१० चलेका ३ सहित १९ वटा निजी विद्यालय रहेका छन् । रोल्पा नगरपालिकामा ४ वटा निजी विद्यालय रहेका छन् ।
कक्षा १–५ पढाइ हुने विद्यालय २ र कक्षा १–१० पढाइ हुने विद्यालय २ वटा रहेका छन् । यस्तै सुनिलस्मृती गाउँपालिकामा ५ वटा निजी विद्यालय रहेका छन् । जहाँ कक्षा १–५ पढाइ हुने २, कक्षा १–८ पढाइ हुने २ र कक्षा १–१० पढाइ हुने १ विद्यालय रहेका छन् ।
यस्तै, सुनछहरी गाउँपालिकामा कक्षा १–५ पढाइ हुने एक विद्यालय रहेको छ । थवाङ गाउँपालिकामा कक्षा १–८ पढाइ हुने एक विद्यालय रहेको छ । परिवर्तन गाउँपालिकामा ४ वटा निजी विद्यालय रहेका छन् । जसमा कक्षा १–५ पढाइ हुने २ र कक्षा १–८ पढाइ हुने २ वटा विद्यालय रहेका छन् ।
गंगादेव गाउँपालिकामा कक्षा १–५ चलेका २ निजी विद्यालय रहेका छन् । यस्तै, माडी गाउँपालिकामा कक्षा १–५ चलेका २ वटा निजी विद्यालय रहेका छन् ।
यस वर्ष जिल्लाका १९ निजी विद्यालय १४८४ छात्रा र १७९७ छात्र सहित ३२८१ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी विद्यालय तर्फ बालविकासमा ५५१ छात्रा र ८७८ छात्र सहित १४२९ छात्रछात्राले अध्ययन गर्दछन् ।