Butwal Today

२० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल

१० पुष २०८२, बिहीबार
अ+
अ-

बुटवल, १० पुस ।

डडेल्धुरा आलिताल गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कञ्चनपुरको महेन्द्रनगरमा अस्थायी रूपमा बस्दै आएकी २० वर्षीया कमला मडै सम्पर्कबिहीन भएकी छन् । विवाहित कमला आफ्नै इच्छाले घरबाट हिँडेपछि हालसम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ ।

परिवारका अनुसार कमला यही पुस ९ गते साँझ करिब ७ बजे बुटवल आएको भन्ने अन्तिम जानकारी प्राप्त भएको थियो । त्यसपछि उनीसँग कुनै सम्पर्क हुन नसकेको र मोबाइल पनि बन्द रहेको जनाइएको छ । कमलाको खोजीका लागि उनका श्रीमान दीपक सेटीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराइसकेका छन् ।

उजुरी विवरणअनुसार कमलाका बुबा तुलाराम बडै र आमा तारादेवी बडै हुन् । उनी हराउनु अघि बुटवल आएको भन्ने जानकारी मात्र उपलब्ध रहेको र त्यसपछिको अवस्थाबारे कुनै ठोस सूचना नआएको परिवारले जनाएको छ ।

प्रहरीले उजुरी दर्तापछि कमलाको खोजी तथा पहिचानका लागि आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ । सम्भावित स्थानहरूमा खोजतलास जारी रहेको र सम्बन्धित प्रहरी इकाइहरूलाई जानकारी गराइएको प्रहरीको भनाइ छ ।

परिवारले कमलाबारे कुनै पनि जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न सबैमा अनुरोध गरेका छन् । साथै, सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यममार्फत सूचना साझा गरी खोजी कार्यमा सहयोग गरिदिन पनि परिवारले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?