© २०२३
बुटवल, ०९ पुस ।
पश्चिम नवलपरासीका सीमा क्षेत्रहरूमा भारतीयद्वारा खुलेआम लागू औषध बेचबिखन गर्ने गरेको खुलासा भएको छ ।
नेपाल–भारत खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीयहरूले नेपाली सीमा बजार क्षेत्रमा लागू औषध ल्याउने बिक्री गर्ने गरेको फेला परेको हो । भारतीय मोटर साइकलमा बोरामा राखेर ठूलोमात्रामा नेपाल भित्रिएको लागू औषध नेपाली भूमिबाट समाउनुले नेपालमा लागू औषधको जालो दैनिक फैलिँदै गएको देखिन्छ ।
प्रहरीले नवलपरासीको सिम क्षेत्र पुस ०७ गते साझ करिब ७ बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) परासी बजार आसपास एरियामा लागू औषध ओसार पोसार तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा खटिएको टोलीले ठुलो परिमाणमा लागू औषध नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव निरीक्षक सागर भट्टराईको कमान्डमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं.१२ पचगावा स्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ७२ प २९१३ नं. को मोटर साइकलमा जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरी बस्ने वर्ष ३० को शहरेदिन अन्सारी र सोही स्थानका १९ बर्षको कृष्ण कुमार चौधरीको साथबाट डाईजापाम १५० एम्पुल, फेनरागन १५० एम्पुल, ब्रुफिननुफ्रिन १५० एम्पुल लागू औषध सहित मोटरसाइकल र मानिसहरू नियन्त्रणमा लिई थप अनुसन्धान गरेको हो ।
नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ लोकपुरवा नजिकै नहरको छेउमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको यु पी ५६ बि इ ५५३७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला महाराजगन्ज थाना ठुटी बारी बस्ने वर्ष २७ को ईरसाद अली र ऐ. ऐ. बस्ने वर्ष २४ को नवि रसुलले सोही मोटर साइकलमा बोरामा राखि ल्याउदै गरेको अवस्थामा डाईजापाम १४९४ एम्पुल, फेनरागन १४९८ एम्पुल, ब्रुफिननुफ्रिन १४९९ एम्पुल लागू औषध सहित नगद नेपाली रुपैयाँ ४०, चालिस हजार बरामद गरी मानिस र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
शहरेदिन अन्सारी जोलाहाको घरमा समेत लागू औषध लुकाई छिपाई राखेको भन्ने सूचना पाएपछि प्रहरीले शहरेदिन अन्सारी जोलाहाको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरीमा रहेको घरमा समेत छापामारी घरमा हरियो झोलामा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम ४४३ एम्पुल, फेनरागन ४४३ एम्पुल, ब्रुफिननुफिन ४५३ एम्पुल लागू औषध समेत फेला परेको हो ।
जम्मा लागू औषध डाईजेपाम २०८७ एम्पुल, फेनरागन २०९१ एम्पुल, ब्रुफिननुफ्रिन २०९४ एम्पुल गरी जम्मा ६२७२ एम्पुल लागू औषध सहित ४ (चार) जना मानिसहरू र निजहरूले प्रयोग गरेको लु ७२ प २९९३ नेपाली मोटरसाइकल युपी ५६ बि इ ५५३७ नम्बरको भारतीय १ वटा मोटरसाइकल उनीहरूको साथबाट नगद रु.४० (चालिस हजार) समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नवलपरासी जिल्ला अदालत परासी नवलपरासी पश्चिम बाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालले बताए ।