© २०२३
बर्दिया, ९ पुस ।
पश्चिम नेपालकै एक मात्र प्राकृतिक तालका रूपमा परिचित बर्दियाको बढैयातालमा यतिबेला आगन्तुक चराहरूको चहलपहल बढेसँगै चरा अवलोकन गर्ने पर्यटकको संख्या पनि तीव्र रूपमा बढ्न थालेको छ। साइबेरियालगायत विभिन्न चिसा मुलुकबाट बसाइँ सरेर आएका चराहरूले ताललाई रंगीन बनाएका छन्।
बढैयाताल करिब १०९ बिघा क्षेत्रफलमा फैलिएको छ भने तालको गहिराइ करिब १० फिटसम्म रहेको स्थानीयबासी मेहिलाल थारुले जानकारी दिए। केही वर्षअघिसम्म ठेक्कामार्फत माछापालन हुँदै आएको तालमा अहिले भने प्राकृतिक संरक्षणलाई प्राथमिकता दिइएको छ। ताल संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सम्बन्धित निकायहरूसँग प्रभावकारी समन्वय हुन नसकेको स्थानीयको गुनासो छ।
नेपालमा हालसम्म ८९७ प्रजातिका चरा पाइन्छन्, जसमध्ये १०० प्रजाति जलपक्षी रहेका छन्। तथ्याङ्कअनुसार हरेक वर्ष करिब १५३ प्रजातिका चराहरू नेपालमा बसाइँ सरेर आउने गर्छन्। यही क्रममा बर्दियाको बढैयाताल आगन्तुक चराको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।
चिसो मौसम सुरु भएसँगै बढैयातालमा सुनजुरे, हरि, बेल्चाठुँडे, खड्खडे, फुर्के, सिन्दुरे, हरियो टाउको हाँस, बिजुला गौरीलगायत पानीमा रमाउने विभिन्न प्रजातिका चराहरू देखिन थालेका छन्। तालको पानीमा पौडी खेल्दै, विचरण गर्दै र आहार खोज्दै गरेका चराहरूको दृश्यावलोकन गर्न दैनिक रूपमा पर्यटकहरू पुग्न थालेका छन्।

चराविद् रामबहादुर शाहीका अनुसार यस वर्ष बढैयातालमा रैथाने तथा आगन्तुक गरी ५० भन्दा बढी प्रजातिका चरा देखिएका छन्। अनौपचारिक अनुगमनमा चराको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए।
गत वर्ष गरिएको चरा गणनामा बढैयातालमा मात्रै २ हजार १४९ वटा चरा फेला परेका थिए। सोही क्रममा एक बच्चासहित तीन वटा सारस पनि देखिएका थिए। सारसलाई विश्वमै संवेदनशील चराको सूचीमा राखिएको छ भने नेपालमा पनि यसलाई संकटासन्न प्रजातिका रूपमा लिइन्छ। “चिसो बढ्दै जाँदा चराको संख्या पनि क्रमशः बढ्ने गर्दछ,” चराविद् शाहीले बताए।
आगन्तुक चराको आगमनसँगै चरा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरू समेत बढैयाताल पुगेर चरा अवलोकन गर्न थालेका छन्।
बढैयाताल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तुलाराम थारूले तालमा आगन्तुक चराहरूको चहलपहल बढेसँगै पर्यटकको आवागमन पनि उल्लेख्य रूपमा बढेको बताए। “ताललाई व्यवस्थित रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके यस क्षेत्रलाई देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै चिनाउन सकिन्छ,” उनले भने।
स्थानीयका अनुसार बढैयातालको दिगो विकासका लागि स्थानीय तह मात्र नभई प्रदेश र संघीय सरकारले समेत साझा ध्यान दिएर संरक्षण र पूर्वाधार विकासमा लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ।