© २०२३
बुटवल–नारायणगढ सडक निर्माणमा फेरी पनि ढिलासुस्ती भइरहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अव पनि ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।
अबको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई जरिवाना तिराउनेदेखि ठेक्का तोड्नेसम्मको चेतावनीपछि निर्माण व्यवसायीले अहिले कामलाई तीब्रता दिएको छ । तर, निर्माणको कामको निरिक्षण गर्नै आउनुपर्ने अवस्था किन आयो ? यो प्रश्नको जवाफ निर्माण व्यवसायीले दिनैपर्दछ ।
ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले अझैपनि म्याद थप गरेर आयोजनाको काम लम्ब्याउने प्रयास गरिरहेको देखिएको छ । तर, अब अति भैसकेको छ । अव यो बर्षा अघि नै निर्माणको काम पूरा भएन भने जनता समेत सडकमा उत्रिनुपर्ने अवस्था आउने छ । आशा गरौं त्यो अवस्था नआओस् ।
मन्त्री घिसिङले समेत सडक विस्तारमा केही सुधार भएको तर सन्तोषजनक नभएको बताएका छन । यद्यपि असारसम्ममा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले सम्पूर्ण काम सम्पन्न गरेर प्रोजेक्ट नै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा विश्वास गरिहाल्ने अवस्था भने छैन । अव कुनैपनि हालतमा म्याद थपिनु हुँदैन ।
हालसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लो समय तेस्रो पटक थपिएको म्याद साउन ७ गते सकिँदैछ । अबको आठ महिनाभित्रमा सवै काम सम्पन्न गर्नुपर्नेछ । पुल निर्माणको काम नै बाँकी रहेकोले यो आयोजना समयमै सरकारलाई हस्तान्तरण गर्ने कुरामा आशंका पैदा भएको छ ।
कावासोतीको केरुङ्गे खोला, चोरमारा र आरुङखोलाको पुल निर्माणको काम अझै सकिएको छैन भने चोरमारा, आरुङखोला र दुम्किवासको बजार क्षेत्रमा एकतर्फी सडक कालोपत्रे हुन पनि सकेको छैन ।
ठेकेदार कम्पनीको कतिसम्म लापरवाही छ भने मन्त्री घिसिङ सडक अनुगमनमा आउने जानकारी पाएपछि रातिसम्म कामदारलाई सडकमै उतारिएको थियो । कामदार हातमा मोबाइलको लाइट बालेर सडक छेउमा उभिएका थिए ।
बिचबिचमा गाडीबाट ओर्लेर सडकको अनुगमन गर्दा कामदारले काम गरेको जस्तो गरे पनि मन्त्री अघि बढेपछि कामदार पनि घर फर्किरहेका थिए । यसरी सरकारको आँखा छल्न देखावटी काम गर्ने परिपाटीले फेरी पनि समयमा काम नसकिने अवस्था देखिएको छ ।
आयोजनाका अनुसार आउँदो बर्खा अगाडि नै काम सम्पन्न गर्न ताकेता गरिएको छ । दाउन्ने खण्डमा यात्रा गर्दा यात्रुले सास्ती खेप्नु परेकाले यो क्षेत्रमा सडक निर्माणको काम छिटो पूरा गर्नुपर्नेमा उल्टै ढिलाइ भएको छ ।
निर्माण व्यवसायीले चाहेमा कुनैपनि आयोजना निर्धारित मितिमै सम्पन्न हुन्छ भन्ने कुरा देशका धेरै आयोजनाले उदाहरण प्रस्तुत गरेका छन तर खोइ किन यो सडक निर्माणमा ठेकेदार कम्पनीले ठूलो लापरवाही गरिरहेको छ ।
वि.सं. २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा कूल ११३ किलोमिटर सडक अहिलेसम्म बल्ल ७७ प्रतिशत पूरा भएको छ ।
यो सडकमा भइरहेको निर्माण ढिलाईले नेपालको विकास आयोजनाको काम कसरी कछुवा गतिमा छन भन्ने कुरा चरितार्थ हुन्छ । बुटवल नारायणगढ सढक खण्डको निर्माणमा भएको लापरवाहीले त्यस क्षेत्रका जनता विगत ६ बर्षदेखि चरम पीडामा बाँच्न विवस छन् । स्थानीय जनताले थुप्रैपटक सडक बन्द गरे ।
आन्दोलनको आँधीबेहरी सिर्जना गरे तर सडक निर्माणको काम कछुवा गतिमा भइरहेको अवस्था छ । अहिले पनि कामको गराई हेर्दा चिन्ता मान्नुपर्ने अवस्था आएको छ । यद्यपि यो सडकको यात्रा अहिले धेरै सहज भएको छ ।
ठूला आयोजनामा नेतादेखि मन्त्रालयका सचिव र आयोजना प्रमुखको समेत मिलेमतो हुने गरेको आरोप लाग्दै आएको अवस्थामा समय लम्ब्याउने खेलमा कतै चलखेल छ कि भन्ने आशंका उब्जिएको हो ।
आशा गरौं त्यो अवस्था अव चाहिँ नहोस् । अबको निर्धारित मिति साउन ५ गतेभित्रै यो आयोजना सम्पन्न होस् । यसमा निगरानी, अनुगमन, निरिक्षण, ताकेता गर्नुपर्ने निकायले आफ्नो जिम्मेवारी ठिक ढंगले निर्वाह गरुन् ।