© २०२३
सल्यान, ०८ पुस ।
सल्यानमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानसँगै पोषण सहयोग गरिएको छ ।
जिल्लाको त्रिवेणि गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले आइतबार अण्डा र हर्लिक्स उपलब्ध गराउँदै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
आइतबार आयोजित एक कार्यक्रममा वडा कार्यालयले एक सय २२ जनालाई एक एक क्यारेट अण्डा र एक एक थान हर्लिक्स वितरण गरेको वडा अध्यक्ष छबिराज शर्माले बताए ।
“ज्येष्ठ नागरिकको आत्मसम्मान, मर्यादा र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम राखेका हौँ“, उनले भने । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले ज्येष्ठ नागरिक तथा पुरानो पुस्ताबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरिन ।
सो अवसरमा सरिकोट स्वास्थ्य चौकीबाट इन्चार्ज बलिभान खड्का सहित खटिएको स्वास्थ्यकर्मीको टोलीले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरेको थियो ।
ज्येष्ठ नागरिकहरूले आफ्नो सक्रिय जीवनमा आर्जन गरेका अमूल्य अनुभव, ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै कदर स्वरूप सम्मान कार्यक्रम राखिएको वडा कार्यालयले जनाएको छ ।