© २०२३
काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ ।
बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै समूहका विद्यार्थीलाई परीक्षा आवेदन भर्न आह्वान गरेको हो ।
बोर्डका अनुसार साधारण समयमा परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ । सो अवधिमा शुल्क बुझाउन छुटेमा माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाएर फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।
यस वर्षको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पाउनेछन् । त्यस्तै, आंशिकतर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८० र ८१ भएका परीक्षार्थीले मात्र आवेदन दिन पाउने बोर्डले स्पष्ट पारेको छ ।
नियमित परीक्षार्थी हुन कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ । आवेदन फारामसँगै विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि बुझाउनुपर्नेछ ।
बोर्डले परीक्षा शुल्क प्रति विद्यार्थी ८०० रुपैयाँ तोकेको छ भने विलम्ब शुल्कसहित १६०० रुपैयाँ बुझाउनुपर्नेछ । भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान तथा होटल म्यानेजमेन्टजस्ता बाह्य परीक्षक आवश्यक पर्ने विषयका लागि अतिरिक्त प्रयोगात्मक शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
उक्त प्रयोगात्मक शुल्कको केही हिस्सा विद्यालयले आन्तरिक परीक्षकका लागि राखी बाँकी रकम बोर्डको खातामा जम्मा गर्नुपर्नेछ । प्रयोगात्मक परीक्षा २०८२ चैत ३० गतेभित्र सम्पन्न गरी वैशाख १५ गतेसम्म बोर्डमा प्राप्ताङ्क पठाइसक्नुपर्ने कार्यतालिका रहेको छ ।
आंशिक परीक्षाको आवेदन विद्यार्थीले कक्षा १२ को नियमित परीक्षा दिएको विद्यालयबाट मात्र दिनुपर्नेछ । विषय छनोट गर्दा कक्षा ११ मा अध्ययन गरेकै विषय र समूहअनुसार हुनुपर्नेछ, अन्यथा आवेदन स्वतः रद्द हुने बोर्डले चेतावनी दिएको छ ।
आवेदन फाराम विद्यार्थी स्वयंले भर्नुपर्नेछ भने विद्यालयले ती विवरण बोर्डको अनलाइन पोर्टलमार्फत प्रविष्टि गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानीका लागि बैंक भौचरका साथै कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई–पे जस्ता डिजिटल माध्यम प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।
