© २०२३
मानव सभ्यताको विकाससँगै सञ्चारका माध्यमहरू निरन्तर परिवर्तन हुँदै आएका छन् । कुनै समय चिठीपत्र, दूत र आमनेसामने संवाद नै सूचनाको प्रमुख माध्यम थिए ।
गाउँघरमा दुःख–सुख साटासाट गर्ने, समस्या समाधान गर्ने र सामाजिक सम्बन्ध सुदृढ बनाउने कार्य प्रत्यक्ष भेटघाटमै हुन्थ्यो । त्यतिबेला हिंसाका रूपहरू पनि प्रत्यक्ष थिए—शारीरिक कुटपिट, मौखिक गालीगलौज, सामाजिक बहिष्कार वा पारिवारिक दबाबका रूपमा।
यस्ता हिंसाहरू देखिन्थे, चिनिन्थे र समाजले कुनै न कुनै रूपमा प्रतिक्रिया दिन्थ्यो । तर समयसँगै प्रविधि विकास भयो, सञ्चार डिजिटल माध्यममा सरेको छ र हिंसाको स्वरूप पनि बदलिएको छ । आज हिंसा धेरैजसो आँखाले देखिनेछैन तर मनभित्र गहिरो चोट पु¥याउने खालको भएको छ, जसलाई डिजिटल हिंसा भनिन्छ ।
डिजिटल युगअघि सामाजिक नियन्त्रण बलियो थियो । परिवार, छिमेक र समुदायको सामूहिक निगरानीले मानिसलाई मर्यादामा बाँध्थ्यो । गलत व्यवहार गर्दा समाजको आलोचना र लाजको डर हुन्थ्यो तर डिजिटल प्रविधिले मानिसलाई भर्चुअल संसारमा स्वतन्त्र बनाइदियो, जहाँ पहिचान लुकाएर बोल्न र व्यवहार गर्न सकिने अवस्था सिर्जना भयो । यही पहिचान लुकाउने सुविधा डिजिटल हिंसाको मुख्य आधार बन्न पुग्यो ।
अभिव्यक्ति स्वतन्त्र भयो, तर जिम्मेवारी कमजोर हुँदै गयो । आजको डिजिटल युगमा मोबाइल फोन, कम्प्युटर, सामाजिक सञ्जाल र इन्टरनेट हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन् । हामी दैनिक समाचार पढ्न, शिक्षा लिन, किनमेल गर्न, कामकाज गर्न, साथीभाइसँग संवाद गर्न र मनोरञ्जनका लागि अनलाइन माध्यम प्रयोग गर्छौं ।
प्रविधिले समय र दूरीको सीमाना तोडिदिएको छ । तर, यही सहज पहुँचसँगै नयाँ प्रकारको हिंसा देखापरेको छ, जसले व्यक्तिगत जीवन, परिवार र समाजमा गहिरो असर पारिरहेको छ । डिजिटल हिंसा केवल महिलामात्र होइन, पुरुष, किशोर–किशोरी, बालबालिका र तेस्रो लिङ्गी समुदाय सबैलाई प्रभावित गर्ने साझा सामाजिक समस्या बनेको छ ।
डिजिटल हिंसा भन्नाले मोबाइल, कम्प्युटर, सामाजिक सञ्जाल, मेसेज, इमेल वा अन्य डिजिटल प्लेटफर्ममार्फत हुने मानसिक, भावनात्मक, सामाजिक तथा आर्थिक आक्रमणलाई बुझिन्छ । यो हिंसा प्रत्यक्ष शारीरिक रूपमा देखिँदैन, तर यसको असर दीर्घकालीन र कहिलेकाहीँ विनासकारी हुन्छ ।
पीडितले मानसिक तनाव, डर, असुरक्षा, आत्मसम्मानमा चोट, सामाजिक दूरी र आर्थिक नोक्सान भोग्नुपर्छ । कतिपय अवस्थामा डिजिटल हिंसाको असर शारीरिक हिंसाभन्दा पनि गहिरो हुन्छ, किनकि यसले व्यक्तिको आत्मसम्मान र सामाजिक पहिचानमाथि आघात पु¥याउँछ ।
डिजिटल हिंसाका विभिन्न रूपहरू छन् । साइबर बुलिङ यसको सबैभन्दा प्रचलित रूप हो । यसमा अनलाइनमा कसैलाई निरन्तर अपमानजनक सन्देश पठाउने, गालीगलौज गर्ने, झुटा आरोप लगाउने, फोटो वा भिडियो दुरूपयोग गर्ने जस्ता गतिविधि पर्दछन् । पहिलेको युगमा यस्ता अपमान सीमित व्यक्तिसम्म मात्र पुग्थे, तर आज सामाजिक सञ्जालमार्फत एकैछिनमा सयौं वा हजारौं मानिससम्म फैलिन सक्छन् ।
यसले पीडितको मानसिक स्वास्थ्य, सामाजिक छवि र आत्मविश्वासमा गहिरो असर पार्छ । किशोर–किशोरीहरू साइबर बुलिङका प्रमुख शिकार बन्ने गरेका छन्, जसका कारण उनीहरूको पढाइ, व्यवहार र भविष्यमा नकारात्मक प्रभाव देखिन्छ । डिजिटल ह्यारास्मेन्ट अर्को गम्भीर समस्या हो ।
अनलाइन अश्लील सन्देश, तस्बिर वा भिडियो पठाउने, यौनजन्य टिप्पणी गर्ने, ब्ल्याकमेल गर्ने र धम्की दिने कार्य यस अन्तर्गत पर्दछन् । परम्परागत समाजमा यस्तो व्यवहार खुलारूपमा गर्न कठिन थियो, तर डिजिटल माध्यमले अपराधीलाई सुरक्षित महसुस गराएको छ ।
महिलाहरू बढी लक्षित भए पनि पुरुष र किशोर–किशोरी पनि यस प्रकारको हिंसाबाट अछुतो छैनन् । सामाजिक बदनामीको डर र पारिवारिक दबाबका कारण धेरै पीडितहरू चुप लाग्न बाध्य हुन्छन् । पहिचान चोरी र अनलाइन ठगी डिजिटल युगका नयाँ अपराध हुन् ।
कसैको व्यक्तिगत विवरण, फोटो, बैंक जानकारी वा सामाजिक सञ्जाल प्रोफाइल दुरूपयोग गरेर फेक अकाउन्ट बनाइन्छ, आर्थिक ठगी गरिन्छ वा सामाजिक बदनामी फैलाइन्छ । पहिलेको युगमा यस्तो अपराध गर्न प्रत्यक्ष सम्पर्क आवश्यक पथ्र्यो, तर अहिले प्रविधिले अपराधलाई सजिलो बनाइदिएको छ ।
यसले व्यक्तिगत आर्थिक सुरक्षामाथि मात्र होइन, डिजिटल प्रणालीप्रतिको विश्वासमाथि पनि गम्भीर प्रश्न उठाएको छ । डिजिटल हिंसाको कारण बहुआयामिक छन् । डिजिटल साक्षरताको कमी, प्रविधिको दुरूपयोग, कानुनी कार्यान्वयनको कमजोरी, सामाजिक र लैङ्गिक असमानता तथा नैतिक मूल्यमा आएको ह्रास यसका मुख्य कारण हुन् ।
धेरै मानिसहरूलाई अनलाइन सुरक्षित व्यवहारबारे पर्याप्त ज्ञान छैन । सामाजिक सञ्जालमा जथाभावी व्यक्तिगत जानकारी साझा गर्ने बानीले जोखिम बढाउँछ । पहिल्यैदेखि समाजमा रहेको लैङ्गिक विभेद डिजिटल माध्यममा झनै तीव्ररूपमा देखिन थालेको छ । डिजिटल हिंसाको प्रभाव सबैभन्दा पहिले मानसिक स्वास्थ्यमा देखिन्छ ।
निरन्तर अनलाइन धम्की, अपमान र डरले पीडितमा चिन्ता, अनिद्रा, डिप्रेशन र आत्मग्लानी उत्पन्न गर्छ । कतिपय अवस्थामा आत्महत्याको जोखिम पनि बढ्छ । सामाजिक रूपमा पीडित व्यक्ति एक्लिँदै जान्छ, परिवार र साथीभाइसँग दूरी बढ्छ । पढाइ र काममा ध्यान दिन नसक्दा शैक्षिक र पेशागत जीवनमा नकारात्मक असर पर्छ ।
शैक्षिक क्षेत्रमा डिजिटल हिंसाको प्रभाव गम्भीर छ । साइबर बुलिङको शिकार भएका विद्यार्थीहरू कक्षामा ध्यान दिन सक्दैनन्, विद्यालय जान डराउँछन् र आत्मविश्वास गुमाउँछन । कार्यस्थलमा पनि अनलाइन ह्यारास्मेन्ट र धम्कीका कारण कर्मचारीहरूको उत्पादकत्व घट्छ, तनाव बढ्छ र कार्यसम्पादन कमजोर हुन्छ ।
यसले संस्थागत वातावरणलाई समेत नकारात्मक बनाउँछ । आर्थिक दृष्टिले पनि डिजिटल हिंसा हानिकारक छ । अनलाइन ठगी, बैंकिङ फ्रड र पहिचान चोरीका कारण व्यक्तिहरूले ठूलो आर्थिक नोक्सान बेहोर्नुपरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरूमा अनलाइन स्क्याम, फेक लिङ्क र डिजिटल ठगीका घटनाहरू बढ्दै गएका छन् ।
यसले परिवारको आर्थिक अवस्था कमजोर बनाउने मात्र होइन, समाजमा डिजिटल प्रविधिप्रतिको विश्वास घटाउने काम गरेको छ । नेपालको सन्दर्भमा डिजिटल हिंसा तीव्र रूपमा बढ्दो छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर बुलिङ, अनलाइन ह्यारास्मेन्ट र ठगीका घटनाहरू प्रहरीमा दर्ता भइरहेका छन्।
तर अझै पनि धेरै घटना रिपोर्ट हुँदैनन्। ग्रामीण भेगमा डिजिटल साक्षरताको कमी र कानुनी पहुँचको अभावले समस्या झन् जटिल बनेको छ । महिलाहरू र किशोर–किशोरीहरू बढी जोखिममा देखिन्छन् ।
विश्वव्यापी रूपमा पनि डिजिटल हिंसा गम्भीर चुनौती बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले विश्वभर ठूलो संख्यामा किशोर–किशोरी र महिलाहरू अनलाइन हिंसाको शिकार भएको देखाएका छन् ।
प्रविधिको विकाससँगै गोपनीयता, मानव अधिकार र मानसिक स्वास्थ्यसम्बन्धी नयाँ प्रश्नहरू उठिरहेका छन् । डिजिटल हिंसा अब व्यक्तिगत समस्या मात्र नभई विश्वव्यापी सामाजिक मुद्दा बनेको छ । डिजिटल हिंसा रोक्न व्यक्तिगत, पारिवारिक, शैक्षिक, सामाजिक र कानुनी तहमा समन्वित प्रयास आवश्यक छ ।
व्यक्तिगत रूपमा सुरक्षित पासवर्ड प्रयोग गर्ने, गोपनीयता सेटिङ मिलाउने र सचेत अनलाइन व्यवहार अपनाउनुपर्छ। अभिभावकले बालबालिकासँग खुला संवाद गर्दै अनलाइन जोखिमबारे मार्गदर्शन दिनुपर्छ। विद्यालय र कलेजहरूले डिजिटल साक्षरता र साइबर सुरक्षा शिक्षा अनिवार्य गर्नुपर्छ । सरकारको भूमिका पनि अत्यन्तै महत्वपूर्ण छ ।
साइबर कानुनको प्रभावकारी कार्यान्वयन, अपराधीलाई कडा सजाय र पीडितलाई सहज न्याय पहुँच सुनिश्चित गर्नु आवश्यक छ । सञ्चारमाध्यम र नागरिक समाजले डिजिटल हिंसाविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्छ । सामाजिक सञ्जाल कम्पनीहरूले पनि दुरूपयोग नियन्त्रण गर्न जिम्मेवार प्रणाली विकास गर्नुपर्छ ।
अन्ततः डिजिटल हिंसा प्रविधिको होइन, हाम्रो सोच, संस्कार र व्यवहारको समस्या हो । पहिलेको युगमा सामाजिक मर्यादा र सामूहिक जिम्मेवारीले नियन्त्रण गरेको व्यवहार आज डिजिटल संसारमा कमजोर बनेको छ । प्रविधिको सकारात्मक, सुरक्षित र जिम्मेवार प्रयोगले मात्र हामी सुरक्षित डिजिटल समाज निर्माण गर्न सक्छौं ।
सबै लिङ्ग, सबै उमेर समूह र सबै समुदायका मानिसहरूका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्नु आजको साझा दायित्व हो । डिजिटल हिंसाविरुद्ध मौन बस्नु समाधान होइन । सचेतना, शिक्षा, कानुनी सुरक्षा र सामाजिक उत्तरदायित्वमार्फत मात्र हामी यस चुनौतीसँग जुध्न सक्छौं ।
जब समाजका सबै तहका मानिसहरू मिलेर कदम चाल्छन्, तब मात्र स्क्रिनभित्र लुकेको यो मौन हिंसालाई उजागर गरी सुरक्षित, न्यायपूर्ण र मानवीय डिजिटल समाज निर्माण गर्न सकिन्छ ।