© २०२३
काठमाडौं ।
राहदानी विभागले थप ३ लाख ९६ हजार थान राहदानी (पासपोर्ट) आपूर्ति भएको जनाएको छ । पासपोर्टको अभाव भएपछि सरकारले अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी ल्याउने सम्झौता गरेको थियो ।
सोही सम्झौता अनुसार करिब ४ लाख थान राहदानी विभागमा आइपुगेको हो । नयाँ स्टक आएकोसँगै विभागले जिल्ला, इलाका प्रशासन तथा विदेशस्थित नियोगहरूबाट आवेदन दिएका सेवाग्राहीका लागि राहदानी पठाउने तालिका पनि सार्वजनिक गरेको छ ।
विभागका अनुसार, जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट कार्तिक १५ गतेसम्म आवेदन दिनेहरूको राहदानी यसअघि नै पठाइसकिएको छ । अब मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी धमाधम छपाइ गरी यही पुस १५ गतेभित्र सम्बन्धित जिल्लामा पठाइने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
त्यसैगरी, मङ्सिर १५ गतेपछि आवेदन दिनेहरूको राहदानी पुस १५ पछि क्रमशः छपाइ गरी पठाइनेछ ।
विदेशस्थित नेपाली नियोगहरूबाट आवेदन दिनेहरूको हकमा भने साविककै हिसाबमा नियमित रूपमा राहदानी छपाइ गरी पठाउने व्यवस्था मिलाइएको छ ।
काठमाडौंस्थित राहदानी विभागबाटै द्रुत सेवामार्फत आवेदन दिन चाहने सेवाग्राहीका लागि पर्याप्त अनलाइन अपोइन्टमेन्ट उपलब्ध गराइएको विभागले जनाएको छ । आवेदन दिनेहरूले सामान्यतः २ कार्यदिनभित्र राहदानी प्राप्त गर्ने साविककै व्यवस्थालाई निरन्तरता दिइएको विभागको सोमबार जारी सूचनामा उल्लेख छ ।