© २०२३
काठमाडौँ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक जना युवक मृत अवस्थामा भेटिएका छन् । भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत फेला परेका हुन् ।
उनको शव ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने जंगलमा भेटिएको हो । ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार युवकको हत्या गरी जंगलमा फालिएको जस्तो देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पारुहाङ र ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा मृत भेटिएका केशवराज हायुको घटनाबीच अन्तरसम्बन्ध देखिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका हायु पुस २ गते शेरेफाँटमा मृत अवस्थामा भेटिएका थिए ।
हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको हुनसक्ने आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतका अनुसार दुवै घटना आपसमा सम्बन्धित देखिएका छन् ।
सोमबार बिहान जंगलमा भेटिएको पारुहाङको शव पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको छ । दुवै जनाको हत्या एउटै समूहले गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।
हत्यामा संलग्न भएको आशङ्कामा हालसम्म दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल रहेका छन् । उनी मृतक केशवराज हायुका बहिनी ज्वाइँ हुन् । अर्का एक जना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार कम्तीमा तीन जनाको संलग्नतामा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।