© २०२३
नेपालगञ्ज, ७ पुस ।
नेपालमा मदिरा सहज र तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले भारतीय नागरिकहरू मदिरा सेवनकै उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा आउने क्रम तीव्र रूपमा बढ्दै गएको छ। बाँकेको जमुनाहा नाका आसपासका बजार क्षेत्र अहिले भारतीय नागरिकको भीड र खुलेआम मदिरा सेवनका कारण अस्वस्थ बन्दै गएको स्थानीयको गुनासो छ।
जमुनाहा बजारका नास्ता पसलदेखि साना भट्टीसम्म भारतीय नागरिकहरूले दिनदहाडै मदिरा सेवन गरिरहेको दृश्य सामान्यजस्तै बनेको छ। स्थानीयका अनुसार बिहान चिया खाने समयदेखि नै मदिरा सेवन गर्नेहरू देखिन थालेका हुन्छन् भने साँझपख स्थिति झनै उग्र बन्दै जान्छ।
सीमा क्षेत्रमा मदिरा पसल सञ्चालन गर्दै आएकी बेलमती खत्रीका अनुसार भारतीय ग्राहक नै मुख्य उपभोक्ता बनेका छन्। “बिहान र दिउँसो खासै कारोबार हुँदैन,” उनी भन्छिन्, “तर साँझपख निकै भीड लाग्छ। भारतमा खुला रूपमा मदिरा पाइँदैन, यहाँ सजिलो भएकाले उनीहरू यहीँ आउँछन्।”
स्थानीयहरूका अनुसार अहिले सीमा क्षेत्रमा अन्य व्यापारभन्दा मदिरा बिक्री नै बढी फस्टाएको छ। मदिरा बिक्रीका लागि छुट्टै पसल मात्र होइन, मिठाई, किराना र फेन्सी पसलमा समेत मदिरा सहजै पाइने गरेको उनीहरूको भनाइ छ। “यहाँ भट्टी नै भट्टी थपिँदै गएका छन्,” स्थानीय हरि अधिकारी भन्छन्, “किराना र मिठाई पसलमा समेत मदिरा बिक्री हुन थालेपछि समस्या झन् बढेको छ।”
मदिरा सेवनपछि होहल्ला, झैझगडा र अवाञ्छित गतिविधि बढ्दै गएपछि केही वर्षअघि जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा बिक्रीमा कडाइ गरेको थियो। तर व्यापारीहरूको दबाबपछि कडाइ खुकुलो बनाइएपछि अवस्था फेरि उस्तै बनेको स्थानीयको भनाइ छ। हरिनारायण अधिकारी भन्छन्, “पसलभित्र अटाएनन् भने सडकछेउमै बसेर मदिरा पिउँछन्। केही समय प्रहरी सक्रिय देखिएको थियो, तर अहिले फेरि खुल्लमखुल्ला बिक्री भइरहेको छ।”
स्थानीयका अनुसार आर्थिक रूपमा कमजोर भारतीय नागरिकहरू सीमा क्षेत्रका साना भट्टीमा मदिरा सेवन गर्न आउने गरेका छन् भने आर्थिक रूपमा सक्षम वर्ग नेपालगञ्जका होटल तथा मनोरञ्जनस्थलतर्फ आकर्षित हुने गरेका छन्। एक होटल कर्मचारीले नाम नछाप्ने सर्तमा भने, “भारतमा जस्तो खुला वातावरण नपाइने भएकाले उनीहरू मदिरा र मनोरञ्जनका लागि यहाँ आउँछन्। तर पाहुना भएकाले हामीले कडा निगरानी गर्न सक्दैनौं।”
यता जिल्ला प्रहरी कार्यालय बाँकेले सीमा क्षेत्रमा मदिरा बिक्री वितरणमा निगरानी बढाइएको दाबी गरेको छ। प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार मदिरा सेवन गरेर होहल्ला, झैझगडा वा अपराध गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिँदै आएको छ। यद्यपि भारतीय नागरिक मदिरा सेवनकै उद्देश्यले नेपाल आउने गरेको ठोस तथ्यांक भने प्रहरीसँग नभएको उनले बताए।
“खुला सीमा भएकाले को, कुन उद्देश्यले आयो भन्ने कुरा निगरानी गर्न व्यवहारिक रूपमा कठिन हुन्छ,” पातली भन्छन्, “मदिरा सेवनपछि झैझगडा वा अपराध गरेर भारतीय नागरिक आफ्नो देश फर्किए कानुनी प्रक्रिया अघि बढाउन प्रहरीका लागि चुनौतीपूर्ण हुन्छ।” सीमा क्षेत्रमा खुलेआम मदिरा बिक्री वितरणले सुरक्षा चुनौती थपिएको उनले स्वीकार गरे।
भारतीय नागरिकको बढ्दो आगमन र सार्वजनिक स्थलमै मदिरा सेवनका कारण सामाजिक विकृति बढ्दै गएको भन्दै स्थानीयवासीहरूले प्रभावकारी अनुगमन, स्पष्ट नीति र कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। सीमा क्षेत्रको शान्ति, सुरक्षा र सामाजिक मर्यादा जोगाउन अब ढिलाइ नगरी ठोस कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ।