© २०२३
बर्दिया, ०७ पुस ।
जिल्लाको राष्ट्रिय निकुञ्ज छेउछाउको बस्तीमा मानव र जनावर बिच द्वन्द्व चर्किँदै गएको छ । बर्दियामा हरेक महिना जङ्गली जनावरले मानिसलाई दुःख पु¥याइरहेको घटना सार्वजनिक हुँदै आएको हो ।
बाटोको छेउको वडामा लेखिएको हुन्छ, होसियार १ वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमी प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला । वन डिभिजन कार्यालय बर्दियाले सर्वसाधारणको जानकारीका लागि राखिएको सूचना बोर्ड निकुञ्ज क्षेत्रको हो ।
गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरूमा वन्यजन्तुहरू ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ ।
उक्त राजमार्ग भएर आउजाउ गर्नेहरूलाई वन्यजन्तुबाट जोगिनका लागि सूचना दिइएको हो । गाउँ बस्ती भएर वन्यजन्तु आउजाउ गरेपछि सुरक्षा संवेदनशीलता बढेको हो । हुलाकी राजमार्ग बन्नुअघि कच्ची सडक थियो । हाल राजमार्ग कालोपत्रे भइसकेको छ ।
उक्त क्षेत्रलाई खाता कोरिडोरका रूपमा चिनिन्छ । उक्त कोरिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनीया सेन्चुरी संरक्षित क्षेत्रलाई जोडेको छ ।
त्यसैले खाता संरक्षित क्षेत्र भएर वन्यजन्तु ओहोरदोहोर बढी भएको हो । क्यामरा जडान गरेर अध्ययन गर्दा खाता क्षेत्रमा वन्यजन्तुको आउजाउ निकै बढी देखियो । तर गाउँ पनि त्यही छन् ।
गाउँसँगै जोडिएर संरक्षित वन पनि छन्,’ डिभिजन वन कार्यालय बर्दियाले भन्छ, ‘त्यसैले वन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा सूचनाका लागि बोर्डहरू राखेको हो । यसले सुरक्षा संबेदनशिलतासँगसँगै सुरक्षाका लागि सचेत गराउन सहयोग पुगेको छ ।’
मधुवन नगरपालिकाको ढोढरी चोक हुँदै ओरली बजारसम्मको वन क्षेत्र हुँदै हुलाकी राजमार्ग बनेको छ । आसपासमा गाउँ बस्ती छन् । त्यहाँ पनि वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भनिएको छ । ओरालबजारदेखि पश्चिमको खाता क्षेत्रलाई अझ संवेदनशील मानिएको छ ।
खाता गाउँबाट कोठियाघाट पुलसम्मको करिब ५ सय मिटर दुरीसम्म वन क्षेत्र छ । त्यहाँ कालोपत्रे भइसकेको छ । कोठियाघाट पुल छेउमै वनभित्रै अर्को बस्ती छ ।
बस्ती सर्न नसक्ने र पालिकाले गाउँलाई तार बार गर्न बजेट अभावका कारणले मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका जनताहरूले अकालमै जान गुमाइरहेको मधुवन नगरपालिकाका अध्यक्ष तेज बहादुर भट्टले जानकारी गराए । उनले भने, यसमा सरकारले गम्भीर हुनुपर्ने हो तर बाघको संरक्षणमा जनताले जान गुमाएको सरकारले देखेको छैन ।
यस क्षेत्रबाट पाटे बाघ, चितुवा, हात्ती र गैंडा लगायका वन्यजन्तुहरू ओहोरदोहोर गर्दै आएका छन् । कुनै बेला दिनदाहाडै वन्यजन्तु आउजाउ गरेको देख्न सकिन्छ । तर सबैभन्दा बढी दुःख जङ्गली हात्तीले दिने गरेको छ ।
हात्ती रोक्नका लागि खाता क्षेत्रमा सिमेन्टको पर्खाल लगाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख विजयराज सुवेदीका अनुसार वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा बस्ती भएकाले सुरक्षा संवेदनशीलता रहेको छ ।
वन्यजन्तुले अन्नबालीमा नोक्सानी पुर्याएका कारण मानव वन्यजन्तु द्वन्द्व हुने गरेको बताए । उनले भने, अरक्ष्य क्षेत्रमा सूचना राखिएको छ तर पनि त्यस सूचनालाई अवहेलना गरेको पाएको बताए । क्षति पाउन सरकारी प्रक्रिया लामो भएको भुक्तानी पाउन समय लाग्ने समेत बताए ।
गत ५ वर्षमा ३६ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ भने यही ६ महिनामा ५ जनाको मृत्यु भएको कार्यालय प्रमुख सुवेदीले बताए ।
खाता कोरिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको निकुञ्जलाई जोड्ने भएकाले वन्यजन्तु हिँडडुल गर्छन् । जसका कारण बस्ती छेउमा सुरक्षा खतरा छ । वन्यजन्तु ओहोरदोहोर हुने क्षेत्रमा बस्ती बस्ने, वन अतिक्रमण हुने गरेका कारण समस्या बल्झिँदै गएको हो ।
केही बस्तीका कारण खाता कोरिडोर टुक्रिएर साँघुरो हुँदै गएको छ । यसले संरक्षणमा चुनौती थपिएको प्रमुख सुवेदीले बताए । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ का स्थानीय बासिन्दाका अनुसार वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् ।
स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरूले जङ्गली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भनिन, “गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैन र मानवीय क्षति भए पनि त्यस तर्फ कुनै चासो देखिएको छैन ।”
त्यस्तै, जनक कुमारी थारुले जङ्गलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गरिन । उनका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जङ्गली जनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ ।