Butwal Today

गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ?

७ पुष २०८२, सोमबार
अ+
अ-

नवलपरासी, ०७ पुस । 

जिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत र निर्माण गरि गण्डक नदीबाट हुने सम्भावित डुबानबाट खतरामुक्त बनाउन बनाइएको परक्युपाईन बगेर नष्ट भएको छ । ठेकेदारले गुणस्तररहित काम गर्दा परक्युपाईन (कटान रोक्ने प्रविधि) नदीको धार परिवर्तनले नष्ट भएको स्थानीयले बताएका हुन् ।

परक्युपाईन बलियो नहुँदा अधिकाँस परक्युपाईन भत्किएर बालुवामा भासिएको स्थानीय बताउँछन् । भारतीय पक्षले नदी नियन्त्रणका लागि बर्सेनि करोडौँ खर्चेर परक्युपाईन लगायत विभिन्न संरचना निर्माण गर्दा त्यसमा प्रयोग हुने गुणस्तर हित सामग्री (गिट्टी, बालुवा, छड) हरू प्रयोग गर्दा यस्ता समस्या देखिन थालेको स्थानीय ओमप्रकाश दुसादले बताए ।

यसमा ठेकेदार मात्रै नभई सो संरचना हेर्नका लागि भारतले खटाएका प्राविधिक (इन्जिनियर) हरू समेत ठेकेदारसँग मिलोमतो गर्दा काम गुणस्तरको नहुने र एक दुई वर्षमै भत्किने गरेको छ ।

प्राविधिक रूपमा नै गण्डक नदीको बालुवा र गिट्टी गुणस्तर हीन भएको प्रयोगशाला परीक्षणले पनि देखाएको छ, तर प्राविधिकहरूलाई मिलाएर ठेकेदारले त्यही नदीको सामग्री प्रयोग गरि बनाउँदा संरचना बलियो नहुने र भत्किने गरेको छ ।

यसको अनुगमनमा समेत नेपालको तर्फबाट खटिएका भु आर्जन तथा सम्पर्क अधिकृत, जिल्ला स्थित प्रशासन तथा प्राविधिक कार्यालयहरू समेत चासो नदेखाउँदा यस्ता समस्याहरू आउने गरेको भनाई स्थानीयवासीको रहेको छ । परक्युपाईन भाँच्चिएर भासिदा त्यसको असर खेतीयोग्य सयौँ बिघा जग्गा कटान भएका छन् ।

भारतीय प्राविधिकहरू ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्दा त्यसको असर नेपाली जनताले भुक्तान गर्न परेको उनको भनाई थियो । भारत सरकारले नेपाली तथा भारतीय जनताको हितका लागि करोडौँ खर्चेर गण्डक नदीको डुबान कटान रोक्नका लागि काम गराउने गरि योजना बनाउँछन्,तर ती योजनाबाट लाभ भारतीय प्राविधिक र ठेकेदारले लिइने गरेका छन् ।

नोक्सान नेपाली जनतालाई हुने गरेको गुनासो स्थानीयवासीको रहेको थियो । बाँधको मर्मत तथा कटान रोक्ने कार्यमा भारतीय पक्षले पहिला ढिलो गरि काम सुरु गर्ने र पछि हतार हतारमा काम गर्ने गरेको प्रति स्थानीयवासीले कामको गुणस्तर प्रति आशङ्का व्यक्त गरेका छन् ।

बर्षायाम सकिने लगत्तै काम नगर्ने र अन्तिम समयमा काम गर्दा व्यापक भ्रष्टाचार हुने गरेको छ । ढिलो गरि काम सुरु गर्दा हता हतारमा कमसल सामग्री प्रयोग गर्न पाईने र सामग्री नदीले बगाएर लगेको विभिन्न बहाना बनाउदै विल बनाउने कार्य मात्र हुने गरेको स्थानीयको आरोप रहेको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा हुने कार्य ढिलो भएको छ,स्थानीय लख्खु यादवले भने, यसले भारतीय ठेकेदारले काम भ्रष्टाचारको बाटो रोजेका छन् ।

गण्डक बाँधको मर्मत सम्भार नहुँदा स्थानीय त्रसित छन् । बेला बेलामा स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँदै आएको भए पनि भारतीय ठेकेदारको रवैया उस्तै रहेको उनको भनाई थियो । कुन काम कति गर्ने हो ? त्यसको लगत स्टिमेट पनि स्थानीय वा सरोकारवाला निकायलाई थाहा छैन ।

कुन सामग्री कहाँबाट ढुवानी गरी ल्याउने हो ? त्यसबारे पनि उनीहरूले निक्र्यौल गरेका छैनन् । यसले गर्दा पनि उनीहरूको काम प्रति स्थानीयको आशङ्का हुनु स्वभाविक भएको उनले बताए ।

भारतीय पक्षले गण्डक परियोजना कार्यालयमा पठाएका भारतीय प्राविधिक (जेइ) रविन्द्र यादव अहिले गण्डक क्षेत्रमा काम गर्ने ठेकेदारसँग अवैध रूपमा मोटो रकम उठाउँदै कमसल काम गर्न हौस्याएको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् ।

यता नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली व्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकीले गण्डकसँग सम्बन्धित कामको अनुगमन नेपाली पक्षले पनि गर्न पाउनु पर्छ, भनी नेपाल भारत गण्डक कोसी संयुतm समिति(जेसिकेजिपी) मा उठाउँदा अहिले चार वर्षदेखि त्यसको बैठक नै नभएको बताए ।

बैठकमा निर्णय नभएका कारण भारतीय प्राविधिकसँग कुरा राख्दा तपाईँहरूको अधिकार क्षेत्र होइन, भनेर तर्किने गरेको प्रमुख बुढाथोकीले सुनाए । गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिले पनि बेला बेलामा गण्डक बाँध सम्बन्धी भएको सम्झौता कार्यान्वयन गर्नका लागि आवाज उठाउने गरेको छ ।

तर सरकारी निकाय त्यस प्रति मौन नै रहने गरेका छन् । २०६५ सालमा गण्डक सङ्घर्ष समितिद्वारा भएको एक महिने आन्दोलन पश्चात् २१ बुँदे सहमति भएको थियो । तर ती सहमति अनुसार अहिले पनि काम भई रहेको छैन ।

सन २०१६ सालमा नेपाल भारत बिच भएको गण्डक सम्झौता भारतीय ठेकेदारलाई कमाई खाने भाँडो मात्र बनेको छ । जबकि गण्डक बाँध भत्किएमा नेपाल भन्दा कम क्षति भारतले बेहोर्नु पर्दैन्। गण्डक बाँध अन्तर्गतको वि ग्याप बाँध,लिङ्क बाँध,नेपाल बाँध अति नै जोखिम अवस्थामा छ ।

ती बाँध भत्कियो भने नेपालको सुस्ता, प्रतापपुर र सरावल गाउँपालिका प्रभावित हुनेछ । जबकि भारतको महराजगंज, देवरिया, गोरखपुर बस्ती जिल्लासम्म प्रभावित बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?