© २०२३
पाल्पा, ०७ पुस ।
जिल्लाको तिनाउ गाउँपालिका कोल डाँडाको सत्यवती गाउँकी ५७ वर्षीय दमयन्ती दर्लामीको गत वर्ष छोराको बिहे भयो ।
बिहेमा झन्डै २ लाख रुपैयाँ ऋण लाग्यो । घरमा बुहारी भित्र्याउँदा लागेको ऋणले दमयन्तीको मन भतभती पोल्यो । मन पोलेकै कारण रातमा नीद लाग्छ छाड्यो । करिब ६ महिनासम्म यही क्रम चल्यो ।
रातमा ऋण सम्झिएर उदाड्डो रातै भएको बताउने दर्लामीलाई अहिले निद्रा नलाग्ने अवस्था छैन । आफ्ना श्रीमानले बारीको काल्ना भरी ४ वर्ष अगाडि लगाएको तेज पातको पात बोक्रा बाट ४ लाख रुपैयाँ हातमा प¥यो ।
ऋण पनि चुक्ता भयो झन त्यस माथि बचत पनि भएपछि सन्तोषलाई नीद लागेको उनले आफ्नो अनुभव सुनाइन् । दर्लामीकै आफन्त टिकाराम ढाडाको पनि कथा र व्यथा पनि उस्तै छ । गत वर्ष वर्षादका कारण ओत लाग्ने बासै गयो । पुराना ढुङ्गा, झ्याल, ढोका त काम लाग्यो ।
काम गर्ने कामदारलाई ज्याला, नास्ता, विद्युत् जडान गर्दा ४ लाख रुपैयाँ ज्याला लाग्यो । ४ लाख रुपैयाँले न त दिनमा भोक न रातमा नीद भयो । भनिन्छ सोझा व्यक्तिको साथी भगवान् हुन्छ भने जस्तै दालचिनी बिक्रीबाट झन्डै ३ लाख रुपैयाँ र तेजपात बिक्रीबाट १ लाख ५० हजार रुपैयाँ हात प¥यो ।
त्यसले सन्तोषको सास लिन सकेको उनी बताउँछन् । निस्दी गाउँपालिकाका ज्यामिरेका खेम बहादुर सोतीको गोठमा भरेकाल भएको भैँसी ल्याउँदा झन्डै २ लाख रुपैयाँ खर्च भयो । भैँसीको ऋण तिर्नको लागि भारतमा कमाउन जान लागेका थिए तर साथी भाइले तेजपातको बिक्री बाट नभए विदेश जाने सुझाए । नभन्दै यस पटकको दसै अगाडि यही तेजपातले भैँसीको ऋण तिर्न सकेको उनले सुनाए ।
पछिल्लो समयमा तेजपात दुःख गरेर बसेकाहरूका लागि पेन्सन जस्तै भएको छ । पहिले पहिले बारीको काल्नामा लगाउने चलन थियो । त्यति बेला गाउँमा मोटर बाटो नहुँदा गाउँका कृषकहरू आफ्नो उत्पादित बस्तु बेच्नका लागि एका बिहानै भारी बोकी बुटवल लैजानु पर्दथ्यो ।
जब गाउँ बस्तीमा मोटर बाटो दौडन लाग्यो भारतीय मूलका व्यापारीले गाउँका व्यापारीलाई आफ्नो प्रतिनिधिका रूपमा राखे । कृषकले ढुवानी गर्न नपर्ने भएपछि कृषकहरूको प्रमुख आम्दानीको श्रोत बनेको कोलडाडाको वौरीडाँडाका सितमबहादुर ठाडा बताउँछन् ।
पहिले पहिले यो बारीको काल्नामा लगाउने प्रचलन थियो । यसलाई अझ बढी बिस्तार गरी आम जनताको जीवनस्तरमा सुधार ल्याउन कार्यालयले प्रवर्द्धनात्मक कार्यक्रमलाई कार्यान्वयनको बाटोमा डो¥याएपछि पछिल्लो समयमा अन्नबालीको सट्टामा वन वाली आर्थिक रूपमा संवृद्धि पाल्पाली भन्ने नाराले सार्थक पाएको कारण अन्न वाली हुने जमिनमा समेत यसको व्यवसायीक रूपमा खेती हुने गरेको छ ।
जिल्लाको कोलडाडा, सत्यवती, जुठापौवा छहरा, सोमादी ज्यामिरे अर्चले जस्ता दर्जन भन्दा बढी गाउँपालिकाको झन्डै ७० हजार हेक्टर क्षेत्रफलको निजी वनमा लगाइएको वनमा करिब १ हजार परिवार प्रत्यक्ष रूपमा तेजपात खेती सँग जोडिएका छन् ।
डिभिजन वन कार्यालयले प्रत्येक वर्ष झडेवा, दोभान मित्याल, तानसेन, रामपुरको नर्सरीबाट वार्षिक रूपमा एक लाख बिरुवा कृषकलाई निःशुल्क रूपमा वितरण गर्दै आएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङ बताउँछन् ।
मोहन श्रेष्ठ
प्रमुख, डिभिजन वन कार्यालय, पाल्पा
यहाँका वन जगंलबाट उत्पादित तेजपातको प्रमुख बजार भनेको भारत हो । यसलाई भारतमा औद्योगिक कच्चा पदार्थ र मसला जन्य बस्तुको रूपमा प्रयोग हुने गर्दछ । यहाँ कृषक तेजपात प्रति के.जी ५० रुपैयाँ बोक्रा दालचिनी प्रति के.जी १ सय रुपैयाँमा बिक्री गर्दा प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालयको वरिष्ठ अधिकृत मुना शर्मा बताउँछिन् ।
यो त गाउँ बस्ती कुरेर बसेका हुँदा खानेलाई हुने खाने बनाउने बलियो आधार भएको उनी बताउँछिन् । अन्न फलफूल लगाउँदा वन्य जन्तुबाट जोगाउन कठिन हुने यसलाई कहिल्यै नोक्सान नगर्ने लगाएको ४ वर्ष पछि उत्पादन लिन सकिने, यो वनस्पति लगाउने ठाउँमा आगलागी भए अत्यन्तै न्यून भएका कारण यस प्रति कृषकहरूको थप आकर्षण बढेको उनको भनाइ रहेको छ ।
बारीको काल्नादेखि सबै ठाउँमा तेजपात लगाएको घरबाट काम र दामको खोजीमा बिदेसिनु नपर्ने रहेछ । एक रोपनी क्षेत्रफलमा लगाइएको तेजपात बाट डेडलाख रुपैयाँसम्म वार्षिक आम्दानी हुँदो रहेछ । १० रोपनीमा सजिलै सँग १५ लाख आम्दानी दिँदो रहेछ ।
खाडीमा पुगेर त्यति पनि आम्दानी नहुने ज्यामिरेका पितम सुनारी बताउँछन् । यहाँ निजी वनको तुलनामा सामुदायिक वनमा कानुनी जटिलताका कारण कम मात्रामा लगाउने गरेको उनी बताउँछन् ।
डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख मोहन श्रेष्ठ भन्दछन्, यो आम्दानीको प्रमुख माध्यम हो । यसलाई अझ बढी बिस्तार गर्ने हो यहाँ विशेष गरी तमला र जेलनिकम प्रजातिको खेती हुने गरेको छ । अहिलेको तुलनामा अझ बढी बिस्तार गर्ने हो ।
यसको प्रभाव सकारात्मक परेका कारण प्रत्येक वर्ष बिरुवाको माग बढ्दो छ । विगत ५ वर्षको अवधिमा जिल्लामा १ अर्ब रुपैयाँ भन्दा बढी भित्रियो । यसले गाउँमा रोजगारीको अवसर सिर्जना गरेका छ । वैदेशिक रोजगारीको तुलनामा बलियो आम्दानी हुने गरी आगामि वर्ष बाट थप बिस्तार गर्ने योजना रहेको छ ।
कार्यालयले समुदायमा पुगेर आर्थिक क्षेत्रमा यसको महत्त्व, नर्सरी स्थापना देखि भण्डारण बजारीकरणसम्म कृषकलाई तालिम दिँदै आएको डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठ बताउँछन् ।
वन कार्यालयको तालिका अनुसार आर्थिक वर्ष ०७७ ०७८ मा ९१९१८० के.जी, ०७८ ०७९ मा ९६६३७६ के.जी, ०७९ ०८० मा ८३६५८३ के.जी, ०८० ०८१ मा ७०६७९० के.जी, ०८१ ०८२ मा ८८१७३१ के.जी तेजपात उत्पादन गरेका छन् ।
त्यसै गरी आव ०७७ ०७८ मा १९१४१५ के.जी, ०७८ ०७९ मा १९०२१४ के.जी, ०७९ ०८० मा १८३५९ के.जी, ०८० ०८१ मा १७६६९७ के.जी, ०८१ ०८२ मा १२१०१० के.जी बोक्रा दालचिनी उत्पादन भएको छ ।
एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय बिरुवा लगाउन सकिने तेजपातको स्वदेशमै प्रशोधन केन्द्र स्थापना गर्न तर्फ प्रदेश र संघीय सरकारले पहल गरेको खण्डमा वैदेशिक मुद्रा आर्जन गर्ने बलियो आधार देखिएका कारण अबका दिनमा यस तर्फ पहल गर्न आवश्यक देखिन्छ ।